दाङ, ९ असार । दार्मा गाउँपालिका सल्यानले उत्पादनलाई विशेष महत्व दिँदै आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले आ.व. २०७८/०७९ को नीति कार्यक्रममा स्वास्थ्य र उत्पादन क्षेत्रलाई विशेष महत्व दिएको छ । गाउँपालिका अध्यक्ष निमबहादुर केसीले मंगलबार गाउँपालिकाको नवौं गाउँसभामामा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।

‘रोकौं महामारी, उठाऔं पूर्वाधार, बढाऔं उत्पादन, बनौं स्वरोजगार’ भन्ने मुल नाराका साथ सार्वजनिक भएको नीति तथा कार्यक्रममा महामारीको रुप लिएको कोभिड–१९ रोकथाम एवं नियन्त्रणलाई पहिलो प्राथमिकता दिइएको छ । प्रतिकार्य र उपचारको व्यवस्थालाई गाउँपालिकाले महत्व दिनेगरी नीति ल्याएको छ ।

५८ बुँदामा समेटिएको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रको सवलीकरण गर्न पालिकाले आधारभूत स्वास्थ्य सेवा र खोप सेवाको सुनिश्चिता गर्ने, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य, दीर्घ रोगीलाई उपचार तथा नियमित औषधी सेवनको ब्यवस्था गरिने नीति लिइएको छ ।उत्पादनमार्फत स्वरोजगार सिर्जना र उद्यम विकासका लागि सहकारी संस्था, कृषक समूह, युवा समूह निजी फर्ममार्फत कृषीजन्य उत्पादन र कृषीजन्य लघुउद्यम सञ्चालनका लागि कानुन बनाई विशेष अनुदान दिइने, कृषिमा चख्लाबन्दी गर्न प्रोत्साहन गर्दै समूह र सहकारी खेतीमा आधारित बजारमुखी उत्पादन गर्न प्रोत्साहन गर्ने, गाउँपालिकालाई दूग्ध पकेट क्षेत्रका रूपमा विकास गर्ने र पशुमा नश्ल सुधारका लागि कृत्रिम र प्राकृतिक गर्भाधारणलाई व्यवस्थित र नतिजामुखी बनाउने नीति गाउँपालिकाले लिएको छ ।

यस्तै ‘बारीका पाटा र खेतका गराः बनाऔं सबै र सधै हराभरा’ भन्ने नारासहित कृषकलाई सदाबहार कृषिजन्य उत्पादनमा प्रोत्साहन गरी बाँझो जग्गा राख्ने कार्यलाई निरूत्साहित गरिने भएको छ ।

नीति तथा कार्यक्रममा जनयुद्धका शहीद र बेपत्ताका छोराछोरीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गर्ने, जनयुद्धका सहिद र बेपत्ताका आमा, बुवा, श्रीमान श्रीमती र छोराछोरीको हकाधिकार हुने गरी प्रतिपरिवार मासकि रूपमा एक हजारका दरले सहिद परिवारलाई भत्ता प्रदान गरिने उल्लेख गरएिको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस