दाङ, १८ तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका वडालाई बालश्रम मुक्त बनाउने कार्यक्रममा जुटेको छ । पहिलो चरणमा वडा नं. १, २, १७ र १८ लाई बालश्रम मुक्त बनाउने कार्यक्रमअनुसार गतिविधि अगाडि बढाएको महिला, बालबालिका तथा सामाजिक शाखा प्रमुख माया श्रेष्ठले जानकारी दिनुभयो ।

आउँदो आर्थिक वर्षमा ४ वटा वडालाई बालश्रम मुक्त बनाउने लक्ष्यका साथ सरोकारवालाहरुसँग उपमहानगरपालिकाले छलफल गरिरहेको छ । सोही योजनाअनुसार वडाहरुमा गरिएको छलफलमा सहभागी सरोकारवालाहरुले वडालाई बालश्रम मुक्त बनाउन आफूहरु प्रतिबद्ध भएको बताएका थिए ।

बालश्रम मुक्त बनाउनका लागि तत्काल लक्षित वडाहरुमा बालश्रमिकहरुको तथ्याङ्क सङ्कलन गर्नेगरी योजना बनाएको नगर बाल अधिकार समितिका संयोजक नवराज लामिछानेले बताउनुभयो । स्थलगत रुपमै पुगेर तथ्याङ्क लिइने र श्रमको प्रकृति अनुसार योजना बनाएर अघि बढ्ने उहाँले बताउनुभयो ।

नगर उपप्रमुख माया शर्मासहित नगर बाल अधिकार समिति संयोजक नवराज लामिछाने, सामाजिक विकास समिति संयोजक कुमार लामिछाने, महिला बालबालिका तथा सामाजिक शाखा प्रमुख माया श्रेष्ठसहितको टोली अहिले वडास्तरीय छलफलमा व्यस्त छ । वडाका जनप्रतिनिधि, शिक्षा, स्वास्थ्य, सुरक्षा निकाय, राजनीतिक दलका प्रतिनिधि, महिला सहकारी, नागरिक समाजका अगुवाहरु, रेडक्रस प्रतिनिधि, उद्योग बाणिज्य संघबीच छलफल भएको शाखा प्रमुख श्रेष्ठले बताउनुभयो ।

छलफलमा बाल अधिकार तथा बाल संरक्षणका विषयमा समेत छलफल गरिएको थियो । कार्यक्रमका सहभागीहरुले बालश्रम मुक्त गरे मात्र समाजलाई समुन्नत बनाउन सकिने भन्दै बालश्रम मुक्त बनाउने अभियान आफ्नो पहिलो प्राथमिकतामा रहने बताएका थिए ।

मौसमी रुपमा बालबालिकाहरु श्रममा प्रयोग हुने देखिएको भन्दै सरोकारवालाहरुले त्यसलाई रोक्न अनुगमनलाई समेत तीव्र पार्नुपर्ने बताएका थिए । बालबालिकाहरु अहिले घरेलु श्रमिक, होटल, उद्योग, कलकारखानामा श्रम गर्दै आएको भेटिएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस