दाङ, २२ असार । तुलसीपुर उपमहानगरपालिका न्यायिक समितिको आयोजनामा मंगलबार उपमेयर लैङ्गिक हिंसा सुरक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा हिंसापीडित तथा प्रभावित महिलाहरुलाई स्वास्थ्य तथा सुरक्षा सामग्रीहरु वितरण समेत गरिएको थियो ।

कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिका उपप्रमुख माया शर्माले महिलाहरुलाई हिंसाबाट प्रभावित हुन नदिन आफूहरु लागिपरेको बताउनुभयो । समाज परिवर्तन भए पनि कतिपय मानिसहरुमा मानसिकता परिवर्तन नभएको हुँदा पुरुषभन्दा बढी महिलाहरु हिंसाको शिकार हुनुपरेको उहाँले धारणा राख्नुभयो । व्यक्ति कमजोर हुनाले ऊमाथि हिंसा हुने भन्दै उपप्रमुख शर्माले हरेक व्यक्ति उद्यमशीलतासँग जोडिनुका साथै सबैमा उच्च मनोबल हुन आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता सूर्यबहादुर डाँगीले लैङ्गिक हिंसा अन्त्यका लागि सबै लाग्नुपर्ने धारणा राख्नुभयो । कुनै एक व्यक्ति वा संस्था मात्र क्रियाशील भएर लैङ्गिक हिंसा अन्त्य नहुने भन्दै उहाँले यसमा सम्पूर्ण सरोकारवालाको ध्यान जान आवश्यक भएको बताउनुभयो । लैङ्गिक हिंसा अन्त्यको सुरुवात सबैले आफ्नो घरबाट गर्न सके यसले चाँडै सफलता प्राप्त गर्नसक्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा लैङ्गिक हिंसा प्रभावित २० जना महिलाहरुलाई स्वास्थ्य तथा सुरक्षा सामग्रीहरु हस्तान्तरण गरिएको थियो । हिंसा पीडित महिलाहरुको सहभागितामा भएको कार्यक्रममा उपमहानगरपालिकाका कानुन अधिकृत आँचल बगालेले कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनुभएको थियो । न्यायिक समिति सदस्य जानका रेग्मीले स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सुशीला शाहले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस