दाङ, ९ साउन । थारु समुदायको मानक भाषा तयार पार्न थारु बृहत् शब्दकोशको सहयोग लिइने भएको छ । थारु आयोगले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बसोबास गर्ने थारु समुदायको बहुभाषिक शब्दकोश तयार पार्नको लागि थारु कल्याणकारिणीसभा क्षेत्रीय समिति देउखुरीले तयार पारेको बृहत् शब्दकोशको सहयोग लिन थालिएको हो । शनिबार लमहीमा थारु बृहत शब्दकोशको विमोचन कार्यक्रममा यसबारेमा जानकारी गराइएको हो ।

थारु कल्याण कारिणी सभा क्षेत्रिय समितिका सभापती चेतराम चौधरीको अध्यक्षता तथा नेपाल संस्कृत विश्व विद्यालय बेलझुण्डीका उपकुलपति प्रध्यापक डाक्टर यादवप्रसाद लामिछानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपकुलपति लामिछानेले शब्दकोशको विमोचन गर्नुभएको हो ।थारु समुदायको भाषा, संस्कृति संरक्षणमा बृहत शब्दकोशले सहयोग पुर्‍याउने प्रमुख अतिथि उपकुलपति लामिछानेले बताउनुभयो । थारु भाषा, संस्कृतिको अध्ययन अनुसन्धानको लागि स्थानीय सरकारको सहयोगमा विश्वविद्यालयले खोज तथा अनुसन्धानमा सघाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले स्थानीय सरकारको तर्फबाट थारु भाषा, संस्कृतिको संरक्षणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा राप्ती गाउँपालिकाका प्रवक्ता विद्याशरण चौधरी, राप्ती गाउँपालिका शिक्षा शाखाका प्रमुख विश्वास विश्वकर्मा, राजपुर गाउँपालिका शिक्षा शाखाका प्रतिनिधि कामना चौधरी, सत्गौवा थारु समाज संघका अध्यक्ष खड्गबहादुर चौधरी, थारु कल्याणकारिणी सभाका सल्लाहकार राजेन्द्रप्रसाद चौधरी, शब्दकोशका सम्पादक उदयराज आले, थारु कल्याणकारिणी सभा दाङका उपसभापति रामपति चौधरी, पत्रकार केपी घिमिरेलगायतका वक्ताहरुले मन्तब्य ब्यक्त गर्नुभएको थियो । थारु कल्याणकारिणीसभा क्षेत्रीय समितिका सहसचिव कर्कट चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव बालगोविन्द चौधरीले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस