यात्रु नपुगे उपमहानगरपालिकाले व्यहोर्ने प्रतिवद्धता जनाएसंगै समिट एयरले विसं २०७५ पुस दोस्रो सातादेखि उडान सुरु गर्यो ।
उपमहानगरपालिका आफैले टिकट बिक्री गरेर पनि केही समय हवाइसेवा चलेपछि बल्ल नागरिक उड्ययन प्राधिकरणले आफुना कर्मचारी पठाएको छ ।

खेमराज रिजाल

तुलसीपुर । यो अभ्यास मुलुकका ७ सय ३२ स्थानिय पालिकामा छैन, तर तुलसीपुर उपमहानगरपालिकामा सम्भव भएको छ । त्यो के भने स्थानिय पालिकाले सिटफुलको ग्यारेन्टी गरेपछि मात्र नेपाल सरकारको स्वामितवमा रहेको नेपाल वायु सेवा निगमले तुलसीपुरमा पछिल्लो समयमा हवाइ सेवा नियमित गर्यो ।

जहाजले यात्रु नपाएर सिट खालि भयो भने त्यसको भुक्तानी तुलसीपुर उपमहानगरपालिकाले गर्ने छ भन्ने सहमतीपत्रसहित नेपाल वायुसेवा निगममा पैसासमेत धरौटी राखेपछि नेपाल वायुसेवा निगम यहांको टरीगाउ विमानस्थलमा हवाइ सेवा निरन्तर गर्न सहमत भयो, त्यसै सर्तमा अहिले पनि जहाज अवतरण भैरहेको छ, तुलसीपुरमा । तुलसीपुर उपमहानगरपालिकाले थालेको यो अभ्यास तुलसीपुरबासीका लागि मात्र थिएन, समग्र दाङ लगायत छिमेकी जिल्लाहरुका लागि पनि सेवा पु¥याउनका लागि थियो । सातामा एक दिन, दुइदिन, सातै दिन हुंदै दैनिक दुई उडान हुंदा पनि नेपाल वायुसेवा निगमको जहाज तुलसीपुरमा यात्रु नपाएर खालि उड्नुपर्ने अवस्था आएको छैन । उपमहानगरको प्रयासले नियमित जहाज चढ्ने दाङबासीहरुको सपना पूरा भएको छ । यतिमात्रै होइन दाङ जिल्लाको आर्थिक समृद्धिका लागि नियमित हवाइ सेवा अपरीहार्य छ । सायद अव तुलसीपुरको विमानस्थलमा नियमित हवाइ सेवा रोकिने छैन ।

तत्कालिन शाही नेपाल वायुसेवा निगमको डकौडा जहाज, नेपाल वायुसेवा निगमको ट्वीनटर देखि गोमा एयर, तारा एयर र समिट एयरका जहाजहरु पनि यहांको विमानस्थल अवतरण गरे । यसो गरिरहंदा कहिले राजनेताहरुले पहल गरे, कहिले उद्योगी व्यवसायीहरुले पहल गरे त अहिले जनप्रतिनिधि आएपछि तुलसीपुर उपमहानगरपालिकाले नियमित हवाइसेवाका लागि अर्थपूर्ण प्रयास गरिरहेको छ । डकौडा विमान ल्याण्ड गर्ने घासे मैदान अहिले पक्कि रनवेका रुपमा विकशित भैसकेको छ ।

‘क्षेत्रीय स्तरको हवाइ इन्धन डिपो तथा टर्मिनल भवन निर्माणका लागि हामीले बजेट समेत विनियोजन गरिसकेको अवस्था हो, नेपाल आयल निगम मार्फत अव चांडै इन्धन डिपो निर्माणले गति लिने छ’, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे भन्छन्, इन्धन डिपो निर्माणको ठेक्का समेत भैसकेको छ ।’ विभिन्न समयमा नेपाल वायुसेवा निगम तथा निजी विमान कम्पनीहरुले तुलसीपुर विमानस्थलमा इन्धन भर्न समस्या भएको भन्दै उपमहानगरपालिकाले पछिल्लो पटक इन्धन डिपो निर्माणका लागि भरमग्दुर प्रयास गर्यो । हवाइ इन्धन डिपो स्थापना भएसंगै अव तुलसीपुर विमानस्थल समग्र राप्ती एवं कर्णाली प्रदेशका लागि पनि हवाइ ट्रान्जिट बन्न सक्छ । जुन तुलसीपुरलगायत समग्र दाङको समृद्धिमा कोषेढुंगा सावित हुनेछ । स्थल मार्गले तुलसीपुरलाई प्रत्यक्ष रुपमा कर्णालीसंग जोड्ने पक्कि सडक निर्माण अन्तिम चरणमा पुगिरहंदा तुलसीपुर विमानस्थलमा पनि नियमित हवाइसेवाको सुरुआत भैसकेको छ । त्यससंगै यात्रुहरुको सेवा र सुविधा तथा विमानस्थललाई व्यवस्थित र आधुनिक बनाउनका लागि टर्मिनल भवन र चमेना गृह, यात्रुप्रतिक्षालय, शौचालयसहितका संरचनाहरु बनाउने उपमहानगरपालिकाको प्रयास निरन्तर जारी नै छ ।

विगत देखि हालसम्म
‘झग्गुप्रसाद ब्राम्हणका यति लामा दारी
यीनै दारी फाल्दा फाल्दै आइपुग्यो चिलगाडी
तुलसीपुरको टरीगाउ विमानस्थलमा पहिलो पटक जहाज ओर्लिरहंदा दाङबासीले यस्तै गित गाउंथे । अर्थात पश्चिम दाङको भमकेका स्थानियबासी तथा जिल्लाकै नेता झग्गुप्रसाद शर्मालाइ यहां हवाइ सेवा सञ्चालनका अगुवाका रुपमा लिइन्छ । जुनवेला उनी पश्चिम दाङमै स्थापित नेता मानिन्थे । उनले तुलसीपुरमा जहाज अवतरण गराउन हदैसम्मको प्रयास गरे । घोराहीको भरतपुर डांडामा कि तुलसीपुरको टरीगाउमा विमानस्थल बनाउने सन्दर्भमा त्यतिवेलादेखि नै क्षेत्रीयताको लडाइको आभाष हुन्थ्यो । झग्गुले यहां विमानस्थल बनाउन भारतीय दुतावासमा पुगेर समेत पहल गरेको तुलसीपुरका पुराना समाजसेवी तथा तात्कालिन नेता वामदेव शर्मा बताउंछन् । झग्गुले कवोल गरेका थिएकि टरीगाउमा हवाइजहाज नबसालेसम्म दारि काट्दैन भनेर । जहाज बसेपछि मात्र उनले दारी काटेको बताइन्छ ।

वि.सं. २०१६ सालमा २८ सिट क्षमताको डकौडा विमान पहिलो पटक तुलसीपुरको टरीगाउं विमानस्थलमा अवतरण गरेको थियो । जुनवेला जहाजको रनवेमा पुरै घास हुन्थ्यो । जहाज ओर्लदा र उड्दा बर्षातमा पानीका पोहराहरु जमिनमा देखिन्थे, हिउदमा धुलाम्मे हुन्थ्यो धावन मार्ग । ‘मलाइ त्यो वेला स्मरण छ, जतिवेला म तुलसीपुरबाट काठमाडौ ६२ रुपैया भाडा तिरेर पुगेको थिएं, टिकट अड्डा मानपुरमा थियो, जहाज चढाउन मानपुरबाट टरीगाउसम्म पैदल आउंथे जहाज आउने दिन, स्थानिय वामदेव शर्मा भन्छन्, सातामा एक दिन उडान भथ्र्यो डकौडाले । विसं २०२९ सालसम्म चलेको थियो डकौडा जहाज । नेपाल सरकारले क्यानाडाबाट किनेको सो जहाज खासमा कार्गोका लागि थियो, तर नेपाल सरकारले सो जहाजमा सिट हालेर यात्रु ओसार्न विभिन्न दुर्गम स्थानका विमानस्थलमा सन्चालन गरेको थियो । त्यसपछि जहाज पुरानो हुंदै गएपछि डम्पिङमा गयो । त्यसलगत्तै नेपाल सरकारले क्यानाडाबाट ट्वीनअटर जहाज खरीद गर्यो । १८ सिट क्षमताका जहाज तुलसीपुरमा चल्न थाले । विसं २०४२ सालसम्म नियमित चल्यो ट्वीनअटर जहाज । त्यसपछि नियमित हवाइ सेवामा ब्रेक लाग्यो ।

‘पुर्वपश्चिम राजमार्ग सञ्चालनमा आएसंगै जव दाङको तुलसीपुरबाट काठमाडौका लागि रात्रिवस चल्न थाले, त्यसपछि यात्रुहरुको अभावका कारण तत्कालिन शाही नेपाल वायुसेवा निगमले हवाइसेवा बन्द गर्यो’, तुलसीपुरका स्थानियबासी गोपिनाथ योगीको डायरीमा लेखिएको थियो । त्यसो त यो एउटा ट्रान्जिट विमानस्थल जस्तै पनि थियो त्यो वेला । रुकुम, भैरहवा, नेपालगन्ज र काठमाडौसम्म जहाजमा यात्रा गर्न पाइन्थ्यो । ‘म स्वयं ९० रुपैया भाडामा दाङबाट नेपालजञ्ज प्लेनमा उडेको स्मरण गर्दछु’, योगी भन्छन् । तर पछि सडक यातायात सहज बन्दै गएपछि विकल्पमा जमिन्दारहरु जहाज छाडेर सडक यातायात रोज्न थाले । उद्योग कलकारखानाको विकाश भएको थिएन यहां । ठूला ठूला व्यापारी पनि थिएनन दाङमा त्यसैले हवाइसेवा नियमित गर्न त्यो वेला सानेवानीलाइ सहज भएन । जहाजले यात्रु पाउन मस्कील बन्न थाल्यो । यात्रु विना जहाज चलाउंदा निगमलाई घाटा हुने भन्दै हवाइ सेवा बन्द भयो । यही वहानामा बन्द भएको हवाइसेवा लगातार विसं २०६० सालसम्म निरन्तर रह्यो ।

विसं २०६० सालमा आइपुग्दा यहांको व्यापार व्यवसाय पनि विस्तारै फस्टाउन थालेको थियो । तुलसीपुर राप्तीकै व्यापारीक ट्रान्जिट बन्न थालेपछि हवाइसेवाको पनि आवस्यकता महसुस हुन थाल्यो । त्यतिवेला तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार श्रेष्ठ हुँदा पर्यटनमन्त्री रविभक्त श्रेष्ठ थिए । श्रेष्ठ मन्त्री हुनुअघि उद्योग वाणिज्य महासंघका केन्द्रिय अध्यक्ष भएका वेला उत्तमसंगको चिनजानका कारण पनि तुलसीपुरमा पुनः हवाइ सेवा सञ्चालन सहज बनेको थियो । हवाइ सेवा विसं २०६६ साल मंसिरसम्म निरन्तर चलेपछि फेरी बन्द भयो । हवाई सेवा वन्द यात्रु नभएर भन्दा पनि विमानस्थल स्तरोन्नति गरी कालोपत्रे गर्नका लागि थियो । विसं २०६८ साल माघ ४ गते धावनमार्ग कालोपत्रेको काम सकिएपछि सोही दिन परीक्षण उडान भएको थियो तुलसीपुर एयरपोर्टमा । त्यो वेला यहां विमानसेवा सञ्चालनका लागि तत्कालिन पर्यटन मन्त्री लोकेन्द्र विष्टले विशेष पहल गरेका थिए । यही महिनाको माघ ६ गतेदेखि हवाइसेवा सुरु भो २०६९ मंसिरसम्म । त्यसपछि विभिन्न वहानामा यहां जहाज अवतरण हुन छाड्यो । भनिन्छ, यहां नियमित हवाइसेवा सञ्चालनमा आउंदा नेपालगन्ज र भैरहवामा विमानसेवा प्रभावित बनी त्यहांको व्यापार घट्न थाल्यो । त्यसैले पनि नेपालगन्ज र भैरहवाको शक्तिले तुलसीपुरको विमानसेवालाइ पछि धकेल्ने प्रयास गरिरहे ।

उद्योग वाणिज्य संघको पहल
मुलुक त्यसवेला जनप्रतिनिधि विहिन थियो । व्युरोक्रेसीले सुन्दैनथ्यो । यात्रु पाउने भएपनि खाली जहाज उडाएर सानेवानीलाई घाटामा लैजाने प्रयत्न हुन थाल्यो, कर्मचारीतन्त्रबाट । हवाइसेवाका लागि तुलसीपुर उद्योग वाणिज्यसंघले निजी कम्पनीलाइ एप्रोच गर्यो । ‘हामीले तारा एयरदेखि गोमा एयरसम्मलाई प्रयास गर्यौ, तारा एयरले परीक्षण उडान गरेपनि रेस्पोन्स नै गरेन’—तत्कालिन तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजाल भन्छन् । त्यसपछि यात्रु उपलव्ध गराउने लिखित सहमतीसहित तुलसीपुर उद्योग वाणिज्यसंघ आफैले टिकट बेचेर विमान सेवा सञ्चालनमा अर्थपूर्ण पहल गर्यो, तर यो पनि ९ महिना भन्दा बढि चल्न सकेन ।

जव जनप्रतिनिधि आए
अनेक प्रयास गर्दा पनि वन्द विमान सेवा सञ्चालन गरिछाड्ने चुनावी एजेण्डा नै बनाएका घनश्याम पाण्डेलगायत जनप्रतिनिधिहरु तुलसीपुर उपमहानगपालिकाको नेतृत्वमा आएपछि हवाई सेवा नियमित सञ्चालनमा ल्याउन प्रयत्न थाले । यात्रु नपुगे उपमहानगरपालिकाले व्यहोर्ने प्रतिवद्धता जनाएसंगै समिट एयरले विसं २०७५ पुस दोस्रो सातादेखि उडान सुरु गर्यो । भाडाका विषयमा स्थानिय तहसंग संझौता गरेवमोजिम भन्ने थियो । तर समिट एयरले एकाएक तात्कालिन भाडा ७ हजार २ सय रुपैयाबाट बढाएर ९ हजार ८ सय पु¥यायो । अन्ततः यात्रुपनि यसको विकल्पमा भैरहवा र नेपालगन्जबाट हवाइसेवा लिन सस्तो मान्न थाले । समिट एयरले भाडा बढाएसंगै यात्रु नपाएको वहानामा सेवा बन्द गर्यो । केही समय फेरी तुलसीपुरमा हवाइसेवा बन्द भयो । तर जनप्रतिनिधिहरु थाकेनन् । त्यसपछिको पहल नेपाल वायुसेवा निगमसंग सुरु गरे । फलस्वरुप मिति २०७६ असोज २३ गतेदेखि देखि नेपाल वायु सेवा निगमको विमाले नियमित सेवा दिइरहेको छ । ‘हामीले यतिधेरै प्रयास गर्नुपर्यो कि टिकट बिक्री नभए तुलसीपुर उपमहानगरपालिकाले पैसा तिर्ने भनेर नेपाल वायुसेवा निगममा पैसा समेत डिपोजिट गरेर सेवा सञ्चालनमा आइरहेको छ’—तुलसीपुर उपमहानगरपालिकाका प्रमुख पाण्डे भन्छन् । उपमहानगरपालिका आफैले टिकट बिक्री गरेर पनि केही समय हवाइसेवा चलेपछि बल्ल नागरिक उड्ययन प्राधिकरणले आफुना कर्मचारी पठाएको छ । संभवतः नेपालका आन्तरीक उडानहरुमा सवैभन्दा बढि मुनाफा हुने हवाइ सेवा तुलसीपुर विमानस्थलमा छ ।

साकार भो सपना
नियमित रुपमा हवाइसेवा सुरुहुन थालेपछि तुलसीपुर लगायत सिंगो दाङबासीको जहाज सपना साकार भएको छ । विरामीको समयमा स्वास्थ्य उपचारका लागि होस वा दुर्घटनाका घाइतेलाई समयमै सुविधासम्पन्न अस्पतालमा पु¥याउनका लागि हवाइ सेवा नितान्त सहयोगी बन्दै आएको छ । कतिपय गम्भीर प्रकृतिका विरामीहरु समयमै स्वास्थ्यउपचारका लागि सुविधासम्पन्न अस्पताल पुग्न सक्ने भएका छन् भने राजनीतिक दलका नेता तथा अत्यावस्यक काम विशेषले दाङ आउनेहरुका लागि पनि छरीतो यातायातको माध्यम बनेको छ, हवाइसेवा ।

‘विरामी मान्छे बसमा बसेर काठमाडौ पुग्न निकै समस्या थियो, तर यो पटक जहाजमै काठमाडौबाट घर फर्कन पाएं’—काठमाडौबाट लकडाउन अघि तुलसीपुर आएका तुलसीपुर उपमहानगरपालिका—१७ फोर्टिनाइन निवासी टिकाराम शर्माले प्रतिक्रिया दिए । उनी मुटुका रोगी हुन् । हवाइ सेवाले विरामीहरुका लागि विशेष सहजता ल्याएको उनको अनुभुति थियो । यहां हवाइसेवा नहुँदा उनी यस अघि कहिले नेपालगञ्ज त कहिले भैरहवा विमानस्थल हुँदै फेरी सडक यातायात तय गरेर दाङसम्म आउंथे ।

‘हामी अव नियमित हवाइसेवाका लागि आशावादी छौं कि अव नियमित हवाइ सेवा रोकिने छैन’, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले भने । जीर्ण कट्रोलरुममा जहाजसंग सम्पर्क गर्न प्रयोग हुने शक्तिशाली मेसिन जडान, यात्रुका लागि टर्मिनल भवन निर्माण, इन्धन डिपो निर्माण प्रक्रिया अघि बढिरहेको अवस्थामा नियमित हवाइसेवामा अव कुनैपनि अवरोध नहुने पनि उनको अपेक्षा थियो ।

उपमहानगरको हवाइ नीति

हवाई सेवालाई दीगो बनाउन तुलसीपुर उपमहानगरपालिकाले आर्थिक बर्ष २०७८/२०७९ को बार्षिक नीति तथा कार्यक्रममै तुलसीपुरको हवाइ सेवालाई वहुआयामिक बनाउने उल्लेख गरेको छ । विमानस्थलको स्तरोन्नति गर्दै नियमित हवाइ उडान सञ्चालन गर्ने र यस विमानस्थलमा अन्तराष्ट्रिय स्तरको पाइलट शिक्षण गर्ने एभियशन कलेज सार्वजनिक र निजी क्षेत्रको सहकार्यमा सञ्चालन गर्ने व्यवस्था मिलाइने पनि उल्लेख गरिएको सन्दर्भमा अव तुलसीपुरको विमानस्थलमा हवाइ सेवा नरोकिने संकेत स्पष्ट देखिएको छ ।

समृद्ध तुलसीपुरबाट

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस