नारायण खड्का

तुलसीपुर । २०७४ सालमा तुलसीपुर उपमहानगरपालिकाले मेयरका रुपमा घनश्याम पाण्डे आउँदा समुदायस्तरमा जनश्वास्थ्य सम्बन्धी कार्यक्रम चल्दैनथे । उतिखेर तुलसीपुरमा जम्मा ८ वटा मात्रै स्वास्थ्य संस्था थिए । तुलसीपुरको दोघरे र छिल्लीकोटमा सामुदायिक स्वास्थ्य इकाइहरु थिए । संघीय सरकार मातहतका ती स्वास्थ्य संस्थाहरु स्थानीय सरकारलाई हस्तान्तरण भए  । तर, आवश्यक भौतिक पूर्वाधार र जनशक्ति उपलब्ध थिएन । लगभग अन्यौंलको स्थिति थियो । तै पनि मेयर पाण्डे र सिंगो जनप्रतिनितिले नागरिकको मौलिकहकका रुपमा रहेको स्वास्थ्य सेवा दिने अठोट गरे ।  कम्मर कसे । त्यही अनुरुप कदम अगाडि बढाए । अनि तुलसीपुरका प्रत्येक वडाहरुमा नगरस्वास्थ्य क्लिनिक स्थापना गर्ने निर्णय भयो । धमाधम नगरस्वास्थ्य क्लिनिक वडाहरुमा स्थापना भए ।  त्यसले सबै वडाहरुमा आधारभूत स्वास्थ्य सेवा जस्तै खोप, परिवार नियोजन, क्षयरोग निवारणजस्ता कार्यक्रमहरु सञ्चालन गर्न सम्भव भयो । हाल तुलसीपुरका १९ वटै वडाहरुमा नयाँ थपिएका ११ स्वास्थ्य केन्द्रसहित २१ स्वास्थ्य संस्थाहरु छन् । मेयर पाण्डेको यो कदम जनश्वास्थ्या एउटा नयाँ सुरुवात थियो ।

ती स्वास्थ्य संस्थाहरुमा ३८ प्रकारका औषधि निःशुल्क वितरण गर्नुपर्ने थियो । केन्द्रबाट पठाउने  औषधिले पुग्दैनथ्यो । ती औषधि नगर आफैले खरिद गर्नुपर्ने दायित्व थपिन गयो । २०७४ सालदेखि नै ती औषधिहरु नगरले आँफै खरिद गरि निःशुल्क उपलब्ध गराउँदै आएको छ । त्यसका लागि नगरले आव २०७७/७८ मामात्रै २० लाख बजेट खर्च गर्‍यो ।  उपमहानगरपालिकाको जनश्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख ओमप्रसाद न्यौपानेले संघीय सरकारको मापदण्ड अनुसार औषधि खरिदको काम गर्दै आएको जानकारी दिए । तुलसीपुर–८ दोघरेमा २०७५ सालमा सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रको स्थापना भयो । जहाँ एक जना मेडिकल अफिसर, एकजना कबिराजको दरबन्दी पनि छ । आर्युेबेदिक औषधीको उपचार सुरु भएपछि राज्यले निशुल्क रुपमा दिने ३८ थरिको औषधिबाहेक थप सेवा पनि सर्वसाधारणले पाउन थाले । नसर्ने रोगहरुको जाँच तथा उपचारका साथै त्यहाँ योग, ध्यान जस्ता कुराहरु कबिराजले  सिकाउँदै आएका छन् ।

मधुमेह, उच्च रक्तचाप, दम जस्ता रोगहरुका लागि औषधि बितरण हुँदै आएको छ । जनश्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख न्यौंपानेले तुलसीपुरका तीनवटा स्वास्थ्य संस्थाहरु वडा नं. १३ को फूलबारी, १९ नं. वडाको बिजौरी र वडा नं. १ को पवननगर स्वास्थ्य चौकीबाट आपतकालिन स्वास्थ्य सेवापनि प्रदान गर्दै आइएको बताए । ती ठाउँमा नगरले नै एम्बुलेन्सको पनि ब्यबस्था गरेको छ ।  आव ०७७/७८ देखि ७० बर्ष नाघेका ज्येष्ठ नागरिक र गर्भबती महिलालाई  निशूल्क एम्बुलेन्सको सेवा दिन थालिएको छ । घर बस्ति वा स्वास्थ्य चौकीदेखि रिफर गरेर तुलसीपुर बजारसम्म ल्याउनु परेको खण्डमा वा मेट्रो हस्पिटलसम्म ल्याउनु परेमा एम्बुलेन्स सेवा निःशुल्क हुन्छ । बाहिरी जिल्ला जानेहरुको हकमा भने  त्यो नियम लागु हुँदैन ।

पवननगगर स्वास्थ्य चौकीले सुत्केरी सेवा लिनेहरुका हकमा यसअघि नै यस्तो निशूल्क एम्बुलेन्स सेवा दिदै आएको छ । चालु आर्थिक बर्षमा थप दूईवटा र अगामी आर्थिक बर्षमा थप तीनवटामा गरि आठवटै स्वास्थ्य चौकीबाट आपतकालिन स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य लिइएको छ ।

तुलसीपुरको प्रतापकोट र छिल्लीकोट जस्ता बिकट वस्तीहरु पनि नगरस्वास्थ्य केन्द्रको इकाइ मार्फत सेवा प्रदान गर्दै आइएको शाखा प्रमुख न्यौंपानेले जानकारी दिए । तुलसीपुर–४ रक्षाचौरमा पनि नगरस्वास्थ्य इकाइको स्थापना हालसालै गरिएको छ । तुलसीपुर–१५ डुरुवामा ३ कोठे अत्याधुनिक बर्थिङ सेन्टरको निर्माण कार्य जारी छ । स्थानीय तहको लागत सहभागितामा वडा नं. ८ र वडा नं. २ मा भवन निर्माण कार्य पुरा भइसकेको  छ । वडा नं. ९, १६, ७, ३ मा आधारभूत स्वास्थ्य केन्द्र निर्माण भइरहेका छन् । आगामी बर्षमा वडा नं. १२, १८, १४ मा पनि नयाँ भवन निर्माण गर्ने लक्ष्य राखिएको छ । जहाँ हाल भाडाको घरमा स्वास्थ्य संस्था सञ्चालन हुँदै आएका छन् ।

स्थानीय सरकार बनेपछि बर्थिङ सेन्टर भएका स्वास्थ्य संस्थालाई प्रोत्साहन स्वरुप नगद ५० हजार , बर्थिङ सेन्टर नभएका स्वास्थ्य संस्थालाई ४० हजार र नगर स्वास्थ्य केन्द्रलाई ३० हजारका दरले सञ्चालन खर्चको रुपमा उपलब्ध गराउँदै आएको छ । नगरको गाउँ टोलहरुमा सेवा दिन तथा  स्वास्थ्य चेतना फैलाउन २ सय १८ जना महिला स्थास्थ्य स्वयंसेविकाहरु  रहेका छन् ।  उनीहरुका लागि यातायात र सूचना खर्च बाफत केही बजेट छुट्याउँदै आएको छ । समय समयमा गोष्ठी र तालिमको समेत ब्यबस्था गर्दै आइएको छ । अनमीहरुलाई घरमै पठाएर सुत्केरी र नबजात शिशुको स्वास्थ्य जाँच गर्ने र जोखिम अवस्था रहे अस्पतालमा रिफर गर्ने गरिएको स्वास्थ्य शाखा प्रमुख न्यौंपाले जानकारी दिए । स्वास्थ्य सेवालाई डिजिटलाईज्ड गर्न प्रत्येक स्वास्थ्य संस्थाहरुलाई ल्यावटप र इन्टरनेटको ब्यबस्था चालु आर्थिक बर्ष भित्रै गरिसक्ने लक्ष्य लिइएको छ ।

नगरले क्यान्सर, मुटु, किड्नी, अल्जाईमर्स, सिकलसेल एनिमिया, ढाड तथा टाउकोमा घातक चोट पटक लागेका जस्ता ‘असाध्य रोगी’ ब्यक्तिहरुलाई राज्यको नीति अनुरुप निशूल्क उपचारको लागि सम्बन्धित ठाउँहरुमा सिफारिस गर्ने गरेको छ । सन्तानको रहर पुरा भएका वा नचाहाँदा नचाहँदै गर्भ रहन गएका महिलाहरुले हालसम्म गैरसरकारी संस्था मेरीस्टोप्स लगाएका संस्थामा सेवा शुल्क तिरेर सेवा लिन जानुपर्ने बाध्यता छ । नयाँ आर्थिक बर्षदेखि कानुनले निर्धारण गरे अनुसारको गर्भपतन तुलसीपुर ९ स्थित नगरस्वास्थ्य केन्द्र दोघरेमार्फत गर्ने ब्यबस्था मिलाइएको न्यौंपानेले बताए । त्यहाँ परिवार कल्यान स्मार्ट सेवा केन्द्र सञ्चालन गर्ने तयारी भइरहेको छ । जसबाट सुरक्षित गर्भपतन सेवा र परिवार नियोजनका साधनहरु प्राप्त गर्न सकिने न्यौंपानेले बताए ।

किशोर किशोरीलाई यौन तथा प्रजनन् स्वास्थ्यबारे जानकारी दिन सूचना तथा परामर्श केन्द्र स्थापना गर्ने नीति लिइएको छ । हाल तुलसीपुर–८ स्थित भिमसेन सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रमा मनोपरामर्श सेवा सञ्चालन हुँदै आएको छ । जसबाट मनोसामाजिक समस्या भएका ब्यक्तिहरुले लाभ लिइरहेका छन् । उपमहानगरपालिका कार्यालय भित्रै स्तनपान कक्ष बिगत बर्षदेखि नै सञ्चालनमा रहेको छ । जहाँ सेवाग्राही र कर्मचारीले आफ्ना नानीहरुलाई स्तनपान गराउने गर्छन ।  उक्त स्तनपान कक्षमा बालबालिकाका लागि खेल्ने सामाग्रीको समेत राखिएका छन् । तुलसीपुर–१२ नं. वडाको पहलमा पशुपति माबि हरिपौरी र महेन्द्र माबि कपडादेबीमा महिनावारीको समयमा किशोरीको समस्या समाधान गर्न निशुल्क स्यानेटरी प्याडको सुरुवात दूई बर्ष पहिले नै भइसकेको छ । तुलसीपुरका केही वडाध्यक्षहरुले ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप घरमै पुगेर जाडोदिनमा न्यानो कपडा बितरण र पोषिलो आहार बितरण जस्ता कार्यक्रम सञ्चालन गर्दै आएका छन् । जसबाट ज्येष्ठ नागरिक लाभान्बित भएका छन् ।

८४ बर्ष भन्दा माथिकालाई स्वास्थ्यकर्मी घरमै गएर निःशुल्क स्वास्थ्य जाँच गर्न थालिएको छ । त्यस्तै राप्ती आँखा अस्पतालको सहकार्यमा तुलसीपुरमा बिगत दूई बर्षदेखि ‘मोतिया बिन्दु मुक्त’ नगर बनाउने अभियान अन्तरगत निशुल्क स्वास्थ्य शिबिर सञ्चालन गर्दै आएको छ । पहिचान भएका त्यस्ता ५७ जना बिरामीले तुलसीपुर नगरबाट सिफारिस लगेर आँखा अस्पतालमा निशूल्क शल्यक्रिया तथा उपचार गराएको जनश्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख ओम न्यौपानेले जानकारी दिए । तुलसीपुरले स्वास्थ्य क्षेत्रमा गरेको अर्कौ महत्वपूर्ण कार्य २०७४ सालबाट सञ्चालन हुँदै आएको महिला सशक्तिकरण र आमा बचाउ कार्यक्रम पनि हो । जस अन्त्तरगत नगरले पोषण प्रसुती प्रोत्साहन भत्ता बिरण गर्र्दै आएको छ । सुत्केरी महिलाको बच्चा जन्मेको २४ घन्टादेखि सातौं दिनसम्म पटक÷पटक घरमै नर्सहर पुगेर स्वास्थ्य जाँच पनि गरिदै आएको छ । त्यसरी सेवामा खटिने नर्सहरुका लागि यातायात र खाजाको ब्यबस्था नगरले नै गर्दै आएको छ । तुलसीपुरका १९ वटै वडाहरुमा करार सेवामा स्वास्थ्य जनशक्ति परिचालन गर्दै आएको र त्यसका  लागि नगरले गत बर्ष २ करोड बढी बजेट छुट्याएको न्यौंपानेले जानकारी दिए ।

गत वर्ष विकट वस्ती तुलसीपुर–४ खुमखानीमा पुगेर निशुल्क स्वास्थ्य शिविर, पोषण शिविर सञ्चालन गरेको छ । त्यस्तै अन्य बिकट वस्तीमा पुगेर निशूल्क शिविर सञ्चालन गर्ने योजना राखिएपनि कोभिड–१९ को महामारीका  कारण त्यो संभव नभएको न्यौंपानेले बताए । कोरोना महामारी संग जुध्न तुलसीपुरले पहिलो लकडाउनका समयमा तुलसीपुरका १२ वटा बिद्यालयमा क्वारेन्टिन तथा आइसोलेसन निर्माण गरेको थियो । घातक दोस्रो लहरबाट नगरबासीलाई जोगाउन तुलसीपुर–८ अश्वारामा कोभिड हस्पिटल सञ्चालनमा ल्याइएको छ । बिपदको समयमा मेयरको भूमिका कारण हस्पिटल सञ्चालनका लागि आवश्यक आर्थिक, भौतिक तथा स्वास्थ्य उपकरणहरु समेत देश बिदेशमा रहेका नागरिकले सहायता पठाएका थिए । तुलसीपुरको बेलझुण्डीस्थित कोरोना बिशेष अस्पतालको सञ्चालन तथा ब्यबसथापनमा समेत तुलसीपुर नगरले  महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

अस्पताललाई पटक/पटक आर्थिक सहायता उपलब्ध गराउनुका साथै बिरामीलाई खाना र स्वास्थ्यकर्मीलाई तुलसीपुरका होटेलहरुमा महिनौंसम्म बसाउने काम तुलसीपुरले नै गरेको थियो । प्रदेश सरकारले सञ्चालन गरेपनि  नजिक हुनुको नाताले जनशक्ति ब्यबस्थापन लगाएत अस्पताल सञ्चलनको सम्पूर्ण  दायित्व तुलसीपुरका मेयर घनश्याम पाण्डेकै काँधमा आइपरेको स्वास्थ्यर्कीहरु बताउँछन् ।

कोभिडको दोस्रो लहरको क्रममा जताकतै अक्सिजन र जनशक्तिको चरम अभाव हुँदा मेयर पाण्डे आँफै अक्सिजन सिलिण्डर बोकेर मध्यरातमा समेत बेलझुण्डी पुगेको अस्पतालका ब्यबस्थापक द्रोर्ण वलीले बताए ।  बिपदको समयमा मेयर पाण्डेको साथ समर्थन नभइ दिएको भए धेरै मानिसहरु मृत्युको मुखमा पुग्ने उनले बताए । ‘ मेयर सापले धेरैको ज्यान जोगान रातदिन खटेर काम गर्नु भयो,’ वलीले भने ‘ आफ्नो ज्यानको समेत प्रवाह नगरी उहाँ बिरामीका लागि जीवन बायू बटुल्न रातदिन संयन्त्र बनाएर खट्नु भएको थियो ।’ तुलसीपुरका कोरोना फोकल पर्सन विमल केसीले मेयर पाण्डेको सक्रियता बिना तुलसीपुरमा कोरोनका कारण ठूलो मानविय क्षति हुने कुरा नकार्न नमिल्ने बताए । ‘ मेयर साप र हामी स्वास्थ्यकर्मी रातदिन नभनी संगै खटेर काम गरेका हौं,’ केसीले अगाडि भने ‘ त्यतिखेर बास्तमै मेयर पाण्डेको ब्यक्तित्व र जनताप्रतिको प्रेम मैले बुझ्ने अवसर पाएको थिए । तुलसीपुर मेट्रोहस्पिटल सञ्चालनमा भएपछि  गौरबपूर्ण र नमुना योग्य कार्यका रुपमा मेयर पाण्डेले अथ्र्याए । निर्वाचनको समयमा आफुले गरेको बाचा अनुरुप आम नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा पुर्‍याउन मेट्रो हस्पिटलको स्थापना भएको हुँदा त्यो सबै नगरबासीको साझा सम्पत्ति भएको मेयर पाण्डेले तर्क गरे ।

तुलसीपुरले राप्ती प्रादेशिक अस्पतालमा आइसियू भवन निर्माण गर्न ५० लाख र राप्ती आँखा अस्पतालको भवन निर्माण गर्न ५० लाख रकम उपलब्ध गराएको थियो । ती दुबै ठाउँमा भवन तयार भइसकेका छन । जसले तुलसीपुर क्षेत्रको स्वास्थ्य सेवा थप सुबिधा सम्पन्न हुने आशा गरिएको छ ।

बितेको आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रका लागि ४ करोड बजेट छुट्याएको थियो ।

(समृद्ध तुलसीपुरबाट)

 

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस