घाेराही, २३ भदाै। सेवा खोला नयाँ बसपार्क टोल विकास संस्था र खानेपानी उपभोक्ता समितिले प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको ६५ हजार ७७५ रुपैयाँ सहयोग रकम विशेष कार्यक्रमका बीच सार्वजनिक गरेको छ।
टोल विकास संस्था र खानेपानी उपभोक्ता समितिमा आबद्ध व्यक्तिहरू र विभिन्न सहयोगी व्यक्तिहरूले उक्त रकम सहयोग गरेका हुन् । सामाजिक उत्तरदायित्व र विपद्को समयमा समुदायको साथमा रहने उद्देश्यका साथ उपभोक्ता समिति तथा स्थानीय समुदायको पहलमा सहयोग रकम संकलन गरी राहत कोषमा प्रदान गरिएको बताइएको छ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले विपद्को समयमा सानो वा ठूलोभन्दा पनि सहयोग गर्ने भावना महत्वपूर्ण हुने बताउनुभयो।
उहाँले भन्नुभयो, “विपद्ले कसैलाई पनि एक्लै प्रभावित गर्दैन, यसले सम्पूर्ण समाजलाई जिम्मेवार बनाउँछ। संकटमा परेका नागरिकको पीडामा साथ दिनु नै सच्चा सामाजिक उत्तरदायित्व हो। नयाँ बसपार्क खानेपानी उपभोक्ता समितिले देखाएको सहयोग र एकताको भावना सबैका लागि प्रेरणादायी छ।”
कार्यक्रममा खानेपानी उपभोक्ता समितिका अध्यक्ष धनबहादुर रोका मगरले विपद्मा परेका नागरिकहरूको पीडामा थोरै भए पनि मलम लगाउने उद्देश्यले सहयोग रकम प्रदान गरिएको बताउनुभयो। सल्लाहकार कैलाश रोकाले स्थानीय समुदाय, उपभोक्ता तथा सहयोगी सबैप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका काममा समिति सक्रिय रहने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रममा खानेपानी उपभोक्ता समितिका सल्लाहकार मित्रलाल भण्डारीले विपद्को समयमा एकआपसमा सहयोग र सहकार्य गर्नु समाजको साझा कर्तव्य भएको धारणा राख्नुभएको थियो।
सेवार खोला नयाँ बसपार्क टोल विकास संस्थाका अध्यक्ष नारायणप्रसाद रोका मगरले समुदायको एकताबाट संकलन गरिएको सहयोग रकमले मानवीय सेवाको भावना बलियो बनाएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि स्थानीय स्तरमा सामाजिक तथा मानवीय कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमको सञ्चालन नयाँ बसपार्क खानेपानी उपभोक्ता समितिका उमाकान्त भण्डारीले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सहयोग रकम सार्वजनिक गर्ने कार्यक्रमले स्थानीय समुदायको एकता, सामाजिक उत्तरदायित्व र विपद्मा परेका नागरिकप्रतिको मानवीय संवेदनालाई थप उजागर गरेको सहभागीहरूले बताएका छन्।











