भरत वली
काठमाण्डाै, १७ जेठ। आज राति पनि कोशी प्रदेशका केही स्थानहरूमा ठूलो वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुन बिहीबार बेलुका कोशी प्रदेश हुँदै प्रवेश गरेपछि त्यहाँको अधिकांश क्षेत्रमा भारी वर्षा भइरहेको छ। मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज राति पनि कोशी क्षेत्रमा वर्षा जारी रहने अनुमान गरिएको छ।

हाल देशभरि आंशिकदेखि पूर्ण बदली रहे पनि अधिकांश स्थानमा वर्षा अत्यन्तै सीमित मात्रामा भएको छ। तर, कोशी प्रदेशका पहाडी भूभाग र मधेशका केही जिल्लाहरूमा राति भारी वर्षाको सम्भावना उच्च रहेको छ। मनसुन आज पनि कोशी प्रदेशमै अझ सक्रिय हुने देखिएको छ।

मनसुन सुरु भएलगत्तै वर्षासँगै बाढी र पहिरोको जोखिम पनि बढेको छ। मनसुन प्रवेश गरेको २४ घण्टा नबित्दै पूर्वी नेपालका विभिन्न स्थानमा बाढीले जनधनको क्षति पुर्‍याएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार आज बिहानको वर्षाले धरान–धनकुटा सडकसहित कोशी प्रदेशका सातभन्दा बढी सडक खण्ड अवरुद्ध बनेका छन्।

त्यसैगरी, झापामा माईखोलाको बाढीले २२ वटा घर डुबानमा पारेका छन् भने विराटनगरका केही घरहरूमा पनि पानी पस्न पुगेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस