जेठ २०, काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक यातायात सेवा बन्द भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । देशभरका यातायात व्यवसायीहरूले साेमबार देखि सार्वजनिक सवारी सेवा अवरुद्ध गरेपछि आयोगले एक विज्ञप्ति जारी गर्दै यसप्रति गम्भीर चासो व्यक्त गरेको हो।
सेवा बन्दका कारण सर्वसाधारणले भोग्नुपरेको असुविधाप्रति चिन्ता व्यक्त गर्दै आयोगले विरोधका वैकल्पिक र शान्तिपूर्ण माध्यम अपनाउन यातायात व्यवसायीहरूलाई आग्रह गरेको छ।
साथै, कानून निर्माण गर्दा सरोकारवाला पक्षसँग पर्याप्त छलफल गर्नुपर्ने आवश्यकता औंल्याउँदै आयोगले पेशा तथा व्यवसाय सञ्चालनमा देखिएका समस्याहरू वार्तामार्फत समाधान गर्न सरकारलाई पनि ध्यानाकर्षण गराएको छ।












