जेठ २४, कञ्चनपुर । भारतको गौरीफन्टा नाका हुँदै सुदूरपश्चिम फर्किएका पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आज गरिएको एन्टिजेन परीक्षणमा ती पाँच महिला ‘पोजेटिभ’ देखिएका हुन्। संक्रमितमध्ये तीन जना कैलाली र दुई जना अछाम जिल्लाका रहेकाे पाइएकाे छ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीका अनुसार, भारतबाट फर्किएका शंकास्पद ३० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। संक्रमित सबैलाई होम क्वारेन्टिनमा बस्न परामर्श दिइएको छ।
यसअघि दुई दिनअघि मात्र यही नाका भएर फर्किएका ३६ जनामध्ये तीन जनामा कोरोना संक्रमण देखिएको थियो। यसरी तीन दिनको अवधिमा भारतबाट फर्किएका आठ जनामा कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी जोशीले जानकारी दिनुभयो। संक्रमितहरूमा ज्वरो र रुघाखोकीका लक्षण देखिएको समेत उहाँले बताउनुभयो।
एन्टिजेन परीक्षणमा पोजेटिभ देखिएका सबै आठ जनाको नमुना थप परीक्षणका लागि काठमाडौंस्थित प्रयोगशालामा पठाइएको छ।
आपतकालीन कार्य सञ्चालन केन्द्रले सीमा नाकामा तीन दिनदेखि हेल्थ डेस्क स्थापना गरी नियमित रूपमा कोरोना परीक्षण गर्दै आएको छ। “पुरानै स्टकमा रहेका किट प्रयोग गरेर परीक्षण गरिरहेका थियौं, आज थप २ सय किट प्राप्त भएको छ,” जोशीले भन्नुभयो, “अब दुई–तीन दिनभित्र गड्डाचौकी नाकामा पनि हेल्थ डेस्क स्थापना गरेर परीक्षण प्रक्रिया सुरु गर्ने तयारी छ।”












