काठमाण्डौ — स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा नेदरल्यान्ड्सले घरेलु टोली स्कटल्यान्डलाई पराजित गरेको छ। हिजो सम्पन्न खेलमा नेदरल्यान्ड्सले स्कटल्यान्डलाई १७ रनले हराएको हो।
नेदरल्यान्ड्सले दिएको १९९ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डको टोली १८१ रनमै अलआउट भएको थियो। शृङ्खला नेपाल, नेदरल्यान्ड्स र स्कटल्यान्डबीच डबल राउन्ड रोबिन प्रणालीमा सञ्चालन भइरहेको हो।
शृङ्खलाको पहिलो खेलमा आइतवार स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले पराजित गरेको थियो। सोमवार भएको दोस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा हारेको थियो।
नेपालले आफ्नो दोस्रो खेलमा स्कटल्यान्डलाई २ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको थियो।
शृङ्खलाअन्तर्गत आज नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल ग्लास्गोमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ।
नेपालले आफ्नो चौथो तथा अन्तिम खेल भोलि घरेलु टोली स्कटल्यान्डसँग खेल्नेछ। शृङ्खलामा तीन टोलीबीच डबल राउन्ड रोबिन ढाँचामा प्रतिस्पर्धा भइरहेको छ, जसमा सबैभन्दा बढी अङ्क हासिल गर्ने टोली विजेता घोषित हुनेछ।
हालसम्म नेदरल्यान्ड्स र स्कटल्यान्डले ३ खेलमा समान ४ अङ्क बटुलेका छन्, भने नेपालले २ खेलमा २ अङ्क जोडेको छ।












