नवलपरासी, असार ६ । पूर्वी नवलपरासीको दुम्कीबासस्थित विनयी खोलाको बाढीमा फसेको यात्रुबाहक बसबाट ३८ जना यात्रुको सकुशल उद्धार गरिएको छ।

काठमाण्डौबाट नेपालगञ्जका लागि छुटेको भे १ ख ४०८५ नम्बरको बस गए राति झन्डै १२ बजेतिर बाढीमा फसेको हो। बस बाढीमा फस्नासाथ एक्साभेटरको सहायतामा सबै यात्रुको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ।

प्रहरीका अनुसार बस विनयी खोलाको डाइभर्सन पार गर्दै गर्दा सुरुमा ठूलो बाढी थिएन। तर खोलाको बीच भागमा पुग्दा अचानक बाढी आएर बस डाइभर्सनमा फसेको थियो। त्यसक्रममा १४ जना यात्रु आफैं बसबाट निस्किएर खोला पार गर्न सफल भएका थिए ।

बाँकी २४ जना यात्रु बसको छतमा चढेर बसिरहेका थिए। उनीहरूले उद्धारका लागि प्रहरीसँग सहयोग मागेपछि तत्कालै एक्साभेटरको सहायतामा सबैको सकुशल उद्धार गरिएको सूचना अधिकारी डीएसपी मधु नेपालले जानकारी दिनुभयो। उहाँका अनुसार सम्पूर्ण यात्रुको उद्धार गर्न झन्डै दुई घण्टा लागेको थियो। उद्धारलगत्तै खोलामा फेरि ठूलो बाढी आएर डाइभर्सनसहित बसलाई पनि बगाएको प्रहरीले जनाएको छ। बाढीले बगाएको बस झन्डै एक किलोमिटर तल भेटिएको छ।

त्यस्तै, दुम्कीबासबाट दाउन्नेतर्फ जाने सडक हिलाम्य भएका कारण गाडीहरू उकालो चढ्न नसक्दा बीच बाटोमै अलपत्र परेका छन्।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस