काठमाडौ, असार ९ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानहरूमा गए राति भारी वर्षा भएको छ। काठमाडौँ र वरपर अहिले वर्षा रोकिएको भए पनि देशका अन्य केही क्षेत्रमा वर्षा जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पछिल्लो ३ घण्टामा कपिलवस्तु, दाङ, नवलपरासी, पाल्पा, चितवन, गोरखा, उदयपुर, बारा, सिराहा, सप्तरी लगायतका जिल्लामा ठूलो वर्षा भएको छ।
कपिलवस्तुको सुरई खोलालगायतका साना खोलामा आकस्मिक बहाव आउन सक्ने सम्भावना भएकाले बाढी पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ।
मध्यरातमा परेको वर्षाले काठमाडौँ उपत्यकाका विष्णुमती, बागमती र धोवीखोलामा ठूलो बहाव देखिएको थियो। अहिले ती नदीहरूको जलसतह घट्दै गए पनि तटीय क्षेत्र तथा नदी किनारमा यात्रा गर्नेहरूलाई सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
यसैगरी, गोरखाको गोरखा एग्रोमेट वर्षामापन केन्द्रमा पनि भारी वर्षा मापन भएको छ। सो क्षेत्र भएर बहने साना नदी तथा खोलामा जलसतह थप बढ्न सक्ने भएकाले स्थानीयबासीलाई सतर्क रहन भनिएको छ।
महाशाखाका अनुसार वर्षा भइरहेको अन्य स्थानहरूमा पनि नदी–नालाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा बसोबास गर्ने तथा यात्रा गर्नेहरूलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ।
आज दिउँसो पनि कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानहरूमा भेलसहितको भारी वर्षा हुन सक्ने भएकाले बाढीको जोखिमलाई ध्यानमा राखी सावधानी अपनाउन महाशाखाले पुनः आग्रह गरेको छ।












