दाङ, १८ फागुन । दाङ क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका दुई जना उम्मेदवारले एकैदिन आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै नेकपा (एमाले) का महासचिव शंकर पोखरेललाई समर्थन गरेका छन् ।

यसक्रममा उम्मेदवार पदमप्रसाद पाण्डेले प्रेस विज्ञप्ति जारी गर्दै वर्तमान राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै राष्ट्रहित, दाङको दीर्घकालीन विकास र समृद्धिलाई केन्द्रमा राखेर आफ्नो उम्मेदवारी निष्क्रिय पारेको घोषणा गर्नुभएको छ ।

विज्ञप्तिमा दाङको विकासका लागि स्पष्ट दृष्टिकोण, अनुभव र राष्ट्रिय स्तरमा प्रभाव पार्न सक्ने नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै पोखरेललाई सक्षम र दूरदर्शी नेताका रूपमा प्रस्तुत गरिएको छ । पाण्डेले पोखरेलको विजयले दाङका अधुरा पूर्वाधार योजना, औद्योगिक विस्तार, रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य क्षेत्रको स्तरोन्नति तथा समृद्धिका दीर्घकालीन एजेण्डालाई गति दिने विश्वास व्यक्त गर्नुभएको छ ।  साथै आफूले अघि सारेका विकास प्राथमिकताहरू पनि पोखरेलको नेतृत्वमा मूर्तरूप लिनेमा विश्वस्त रहेको जनाइएको छ।

त्यसैगरी, सोही क्षेत्रमा उम्मेदवारी दिनुभएका विष्णुविक्रम सेन ओलीले पनि आफ्नो उम्मेदवारी फिर्ता लिँदै पोखरेललाई समर्थन गर्नुभएको छ। उहाँले दाङ मात्र नभई सिंगो मुलुकको नेतृत्व गर्न सक्ने क्षमता पोखरेलमा रहेको उल्लेख गर्दै क्षेत्रको विकास र स्थायित्वका लागि आफ्नो समर्थन रहने स्पष्ट पार्नुभएको छ।

दुवै उम्मेदवारले आफ्ना इष्टमित्र, शुभेच्छुक तथा समर्थकहरूलाई आगामी निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी शंकर पोखरेललाई अत्यधिक मतले विजयी गराउन अपिल गरेका छन्। एकैदिन दुई उम्मेदवारले समर्थन घोषणा गरेसँगै दाङ क्षेत्र नम्बर २ को चुनावी समीकरण थप चासोको विषय बनेको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस