दाङ, २६ जेठ । नेपाल संस्कृत विश्वविद्यालय र भारतको वनारस हिन्दु विश्वविद्यालयबीच प्राज्ञिक ज्ञान आदानप्रदानका लागि सम्झौता भएको छ । संस्कृत विश्वविद्यालयका कूचलसचिव माधव अधिकारी, साँस्कृतिक अध्ययन केन्द्रका कार्यकारी निर्देशक टिकाराम बुढा र वनारस हिन्दु विश्वविद्यालयका संस्कृत विद्या धर्मविज्ञान संकायका डिन राजाराम शुक्लाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
दुवै विश्वविद्यालयबीच बिभिन्न अध्ययन, अनुसन्धानका काममा सहयोग र सहकार्य गर्ने गरी मंगलबार दाङको बेलझुण्डीमा सम्झौतापत्र आदानप्रदान गरिएको छ । संस्कृत शिक्षाका साथै अन्य बिभिन्न प्राज्ञिक काममा मिलेर काम गर्दै संस्कृत शिक्षाको प्रवद्र्धनमा योगदान दिन सम्झौताले सहयोग पु¥याउने संस्कृत विश्वविद्यालयका उपकुलपति सुधन कुमार पौडेलले बताए ।
संस्कृत विश्वविद्यालयले यसअघि पनि भारतका बिभिन्न विश्वविद्यालयसँग सम्झौता गरी अध्ययन अनुसन्धानमा सहकार्य गर्दै आएको संस्कृत विश्वविद्यालयका कुलसचिव अधिकारीले बताए । यस सम्झौताबाट दुई देशका विश्वविद्यालयमा रहेका ज्ञानको भण्डार उपयोग गर्न सहज हुने वनारस हिन्दु विश्वविद्यालयका डिन शुक्लाले बताए ।












