तिर्थराज ज्ञवाली

मसुरीया(देउखरी दाङ), २८ माघ । घटना व्यवस्थापन तथा आधारभूत सहायता सीपसम्वन्धी तीनदिने अभिमुखीकरण तलिम सुरु गरिएको छ । ब्याकवार्ड सोसाइटी एजुकेसन बेसको आयोजनामा राप्ती गाउँपालिकाका बालबालिका तथा महिला सहकारीका प्रतिनिधिहरुलाई अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

शुक्रवार गाउँपालिका उपाध्यक्ष जगदम्वाकुमारी चौधरीको अध्यक्षता एवं गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यता, शिक्षा प्रमुख विश्वास विकको विशिष्ट आतिथ्यतामा अभिमुखीकरण तलिमको उद्घाटन गरिएको छ । तालिममा जोखिममा परेका तथा सहयोगको आवश्यकता भएका बालबालिका र परिवारको पहिचान पश्चात उनीहरुलाई आवश्यक सहयोग तथा सेवा प्रत्यक्ष रुपमा नै उपलब्ध गराउने वा अन्य उचित निकायमा सिफारिस गरी सोबाट सेवा पूर्ण रुपमा प्राप्त गराउने प्रक्रिया बारे जानकारी दिइने छ ।

घटना व्यवस्थापनका लागि समन्वय, सहकार्य तथा अभिलेखीकरण गर्ने बारेमा समेत प्रशिक्षण गरिने बेसका क्षेत्रीय सचिव पटवारी यादवले जानकारी दिनुभयो । तालिममा सहभागीहरुले बाल अधिकार, अवधारणा, विशेष अधिकार, बाल अधिकार सम्बन्धी कानुनी व्यवस्था, बाल अधिकारसम्बन्धी महासन्धीमा व्यवस्था भएका बालअधिकार, बाल सहभागिता, बाल संरक्षण, विशेष संरक्षणमा रहेका बालबालिकाको आवश्यकता, संरक्षण र तिनको भूमिका, घटना व्यवस्थापन र यसका चरणहरु, विपद् जोखिम तथा व्यवस्थापन, स्थानीय तहमा बालअधिकार र संरक्षण सम्बन्धी सवालहरु र कार्ययोजना जस्ता विषयमा दक्षता हासिल गर्ने बेस संस्थाकी समाज परिचालक चन्द्रकला रोकाले बताउनुभयो ।अभिमुखीकरण तलिममा बालबालिकासँग सम्बन्धित विभिन्न समस्याहरुलाई सम्बोधन गर्ने क्रममा कुनकुन निकायले के के प्रक्रियाहरु पूरा गर्नुपर्छ भन्ने विषयबारे जानकारी गर्दै बालसंरक्षणलाई सम्वोधन गर्ने पहिलो तथा अत्यन्तै महत्वपूर्ण प्रक्रिया, बालसंरक्षणसंग सम्वन्धित सबै सरोकारवालाहरुको क्षमतामा अभिबृद्धि गर्दै व्यवस्थित, उत्तरदायी र समन्वयात्मक प्रणाली, बालसंरक्षण प्रणालीभित्रको अत्यावश्यक कार्य भएकाले यसले बालबालिका विरुद्ध हुने दुव्र्यवहार, हिंसा, शोषण र अपहेलनालाई तत्काल सम्बोधन गर्ने विषयमा जानकारी गरिने बेस संस्थाकी समाज परिचालक खगिसरा खड्काले बताउनुभयो ।

बालबालिकाको समस्यालाई सरल तरिकाले र बालअधिकार सम्मत ढंगले सम्बोधन गर्न, जोखिममा परेका बालबालिकालाई सहयोग गर्दै उनीहरुलाई पहिलेकै सामान्य अवस्थामा पुर्‍याई बाल अधिकारको पूर्णरुपमा प्रत्याभूत गराउन, बालबालिका तथा उनीहरुको परिवारमा आत्मविश्वास बढाई दक्ष मानव संसाधन तथा मानव पुँजीको निर्माणमा टेवा पुर्‍याउन, बालसंरक्षण सम्बन्धी नीति र व्यवहारबीचको फरकलाई न्यूनीकरण गर्न घटना व्यवस्थापन गर्ने गरिन्छ ।

कार्यक्रममा संरक्षण तथा सहयोगको आवश्यकतामा परेका तथा जोखिममा रहेका बालबालिका तथा परिवारको पहिचान भएपछि बालबालिकामाथि रहेको जोखिम तथा समस्याको उचित सम्बोधनका लागि घटना व्यवस्थापनको आवश्यकता रहेको जानकारी गरिने छ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस