घोराही, २९ फागुन । घोराही उपमहानगरपालिकाले वडा नम्बर ६ को फचकपुरमा सहरी स्वास्थ्य केन्द्र स्थापना गरेको छ । कार्यपालिकाको १६औँ बैठकले गरेको निर्णय बमोजिम उपमहानगरले वडा नम्बर ६ को फचकपुरमा सहरी स्वास्थ्य केन्द्रको स्थापना भएको हो ।

वडा अध्यक्ष रेवबहादुर बुढाथोकीको अध्यक्षतामा कार्यक्रमको आयोजना गरी नगर प्रमुख नरुलाल चौधरी र उपप्रमुख सीता न्यौपानेले सहरी स्वास्थ्य केन्द्रको उद्घाटन गर्नुभएको हो । एक वडा, एक नगर स्वास्थ्य केन्द्र स्थापना गर्ने नीति तथा कार्यक्रमअनुसार पहिलो केन्द्रकारुपमा फचकपुरमा सहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको हो ।

केन्द्रमा ३२ प्रकारका औषधिहरु निःशुल्क पाइने छन् भने आधारभूत औषधि उपचार, गर्भवती जाँच, परिवार नियोजन र खोप सेवाहरु प्रदान गरिने उपमहानगरका स्वास्थ्य महाशाखाका ठाकुर खनालले जानकारी दिनुभयो । अहेव उमा चौधरीलाई केन्द्रको जिम्मेवारी दिइएको छ ।यसैबीच आज उद्घाटनको पहिलो सेवाग्राही लखुवारका ६० वर्षीय विजयन्ती चौधरी बन्नुभयो । उहाँको स्वास्थ्य जाँच गरेर सहरी स्वास्थ्य केन्द्रले उपचार सेवा थालेको छ । कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले स्वास्थ्य केन्द्रलाई जनताले सम्पत्तीका रुपमा संरक्षण र उपभोग गर्नुपर्ने बताउनुभयो ।

व्यक्ति स्वस्थ भए मात्रै आर्थिक संबृद्धी हुने भन्दै उहाँले रोग लाग्नुभन्दा लाग्नै नदिने उपायहरु खोज्न अपील समेत गर्नुभयो । हरेक क्षेत्रमा आम नागरिकहरुको सहज पहुँचका लागि उपमहानगरले अधिकतम कार्यक्रमहरु ल्याउने समेत जानकारी दिनुभयो ।उपमहानगरले अभिभावकत्व एवं आवस्यक सहयोग गर्ने र सम्बन्धित ठाउँका नागरिकहरुले त्यसको संरक्षण, सुरक्षा र उपभोग गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा उपप्रमुख सीता न्यौपानेले नागरिकहरुलाई आधारभूत सेवाहरु सकेसम्म घर नजिकैबाट दिने योजनामा आफूहरु रहेको बताउनुभयो ।

व्यक्ति स्वस्थ्य भए मात्रै उसले प्रगति गर्न सक्ने भएकाले खानपान, आनीबानी, खोपसेवा र स्वास्थ्यप्रति सचेतता अपनाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, वडा नम्बर ७ का अध्यक्ष खोपीराम चौधरी, १६ का अध्यक्ष लछिनप्रसाद बुढा, नेकपा एमालेका थुरेन्द्रबहादुर वली, माओवादी केन्द्रका खिमबहादुर चौधरी, नेपाली कांग्रेसका खगिराम वली, जनस्वास्थ्यका प्रकाश योगी, धारपानी मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्य, वडा सदस्य केशवकुमार बुढाथोकीले सहरी स्वास्थ्य केन्द्रलाई साझा सम्पत्तीका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।
उक्त केन्द्रबाट साविक सौँडियार गाविसका १, २, ३ र ४ तथा वडा नम्बर १६ का जनताहरुलाई उपचार सेवा लिन सहज हुनेछ । केन्द्र सञ्चालनका लागि उपमहानगरले ११ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

त्यसैगरी उपमहानगरले यसै आर्थिक वर्षमा अन्य ५ वटा वडामा पनि सहरी स्वास्थ्य केन्द्र स्थापना गरेर सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस