घोराही, १९ चैत । शिक्षक दरबन्दी मिलानको निर्णय कार्यान्वयनको माग गर्दै दाङका शिक्षकहरुले जिल्ला शिक्षा कार्यालयमा तालाबन्दी गरेका छन् ।

शिक्षक महासंघको अगुवाइमा सोमबार निर्णय कार्यान्वयनको माग गर्दै शिक्षा अधिकारी रमेशप्रसाद मैनालीलाई भेट्न गएका शिक्षकहरुले माग सुनुवाई नभएको भन्दै शिक्षा कार्यालयको दुवै गेटमा तालाबन्दी गरेका हुन् ।

लामो समयदेखि जिल्लामा शिक्षक दरबन्दी मिलान नहुँदा समस्या भएपछि जिल्ला समन्वय समितिको अगुवाइमा गठन गरिएको जिल्लाका स्थानीय तहसमेतको शिक्षक दरबन्दी मिलान कार्यदलले गरेको निर्णय कायान्वयनमा शिक्षा कार्यालयले अवरोध सिर्जना गरेको शिक्षकहरुले बताएका छन् ।

जिल्ला शिक्षा अधिकारी रमेशप्रसाद मैनालीले भने दरबन्दी मिलान गर्दा नियमसंगत नभएकाले कार्यान्वयन गर्न समस्या भएको बताउनुभयो । उहाँले विद्यालयमा पहिले नै भएका दरबन्दी काटेर राहत कायम गर्ने काम भएको उल्लेख गर्दै नियम बिपरीत काम गर्न नसक्ने बताउनुभयो ।

शिक्षकहरुले दरबन्दी मिलान नियमसंगत र आवश्यकतामा आधारमा गरिएकाले तत्काल कार्यान्वयन गर्न माग गरेका छन् । दरबन्दी मिलानका लागि शिक्षाअधिकारीसहित पटक पटक गरिएका सहमति कार्यान्वयन हुनुपर्ने भन्दै शिक्षक महासंघ दाङका अध्यक्ष अमरबहादुर खड्काले कार्यालयकै कारण समस्या उत्पन्न भएको बताउनुभयो । दाङका १ सय ९ विद्यालयमा शिक्षक दरबन्दी नै नभएको कार्यालयले जनाएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस