घोराही, २० चैत । सशस्त्र द्वन्द्वका क्रममा दाङमा अङ्गभङ्ग भएका घाइतेहरुको अपाङ्गता प्रतिशत निर्धारण गरिएको छ । प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा रहेको सशस्त्र द्वन्द्वमा घाइते भएका व्यक्तिहरुको प्रतिशत निर्धारण एवं पुनरावलोकन सिफारिस समिति दाङले चैत २० गते शान्ति सचिवालयमा ५० जनाको नाम र प्रतिशत सिफारिस गरेको हो ।
सशस्त्र द्वन्द्वमा घाइते भएका व्यक्तिहरुको प्रतिशत निर्धारण एवं पुनरावलोकन उपसमितिले सिफारिस गरेको प्रतिवेदनअनुसार घोराहीमा बसेको समितिको बैठकले द्वन्द्वपीडितहरुका नाम र अपाङ्गताको प्रतिशत शान्ति सचिवालयमा सिफारिस गर्ने निर्णय गरेको हो ।
समितिका अनुसार सिफारिस गरिएकामध्ये सतप्रतिशत अङ्गभङ्ग भएका ३ जना, ८० प्रतिशत अङ्गभङ्ग भएका २, ७० प्रतिशत अङ्गभङ्ग भएका २, ६० प्रतिशत अङ्गभङ्ग भएका १३ र २० देखि ५५ प्रतिशत अङ्गभङ्ग भएका ३० जना रहेका छन् ।
यसअघि द्वन्द्व प्रभावित व्यक्ति, परिवार तथा संरचनाको विवरण प्रशोधन तथा राहत प्रदान गर्न सुझाव पेश गर्ने सम्वन्धि कार्यदल २०७३ ले सूचीमा राखेका दाङका कुल १ सय ४ मध्ये जम्मा ७ जनामात्रै प्रतिशत निर्धारणका लागि आएको स्थानीय शान्ति समितिका कार्यालय सचिव हेमराज अधिकारीले जानकारी दिनुभयो । उहाँकाअनुसार अहिले सिफारिस भएका ५० मध्ये नयाँ सूचीमा परेका ७ बाहेक सबै यसअघि प्रतिशत निर्धारण भइसकेका व्यक्तिहरुले पुनरावलोकन गरेका छन् ।
प्रतिशत निर्धारण गरी पठाइएकाहरुको पुनः एकपटक छानविन हुने र प्रमाणित भए अङ्गभङ्गको प्रतिशतको आधारमा घाइतेहरुलाई चालु आर्थिक वर्षमै राहत उपलब्ध गराइने शान्ति समिति दाङले जनाएको छ । तर ६ महिनाको लामो समय दिँदा पनि प्रतिशत निर्धारणका लागि नआएका पीडितहरु राहतबाट वञ्चित हुने समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
द्वन्द्वमा घाइते भएकाहरुको प्रतिशत निर्धारण तथा पुनरावलोकनका लागि ६ महिनाको म्याद दिएर सूचना जारी गरिएको भन्दै प्रजिअ श्रेष्ठले दाङबाट ५० जनाको मात्रै सिफारिस गरिएको जानकारी दिनुभयो । शान्ति समितिका अनुसार दाङमा सशस्त्र द्वन्द्वका क्रममा ४ सय ११ जना घाइते तथा अङ्गभङ्ग भएका थिए । तीमध्ये ३ सय ७ जनाले यसअघि राहत पाइसकेको शान्ति समितिले जनाएको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस