सेवा प्रवाहमा गुणस्तरीयता ल्याउँछौः नगर प्रमुख चौधरी
घोराही, ५ बैशाख । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले उपक्षेत्रीय अस्पतालमा रहेको संस्थागत परिवार नियोजन क्लिनिकलाई तोकिएका सेवा प्रवाहमा गुणस्तरीयता ल्याइने बताउनुभएको छ ।
परिवार नियोजन स्वास्थ्य सेवाहरु प्रवाह गर्ने भनिए पनि अहिले सेवाहरु गुणस्तरीय नभएको पाइएपछि अब उपमहानगरले त्यसको व्यवस्थापनमा तत्कालै काम थाल्ने नगर प्रमुख चौधरीले बताउनुभयो ।
क्लिनिकको संस्थागत व्यवस्थापन तथा सुढृढीकरण विषयक अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख चौधरीले क्लिनिक सार्नेभन्दा पनि अस्पतालभित्रै त्यसलाई व्यवस्थापन र गुणस्तरीय सेवा प्रवाहमा केन्द्रित गर्ने बताउनुभयो ।
क्लिनिक व्यवस्थापन समितिको आयोजनामा बुधबार भएको कार्यक्रममा नगर प्रमुख चौधरीले क्लिनिक नसर्ने र तोकिएका सेवा प्रवाहका लागि स्रोत साधन जुटाएर एकीकृत सेवा दिने जानकारी दिनुभयो । वडा नम्बर १४ मा सहरी स्वास्थ्य केन्द्र तत्काल स्थापना गर्ने र संस्थागत क्लिनिकलाई अस्तापलभित्रैबाट गुणस्तरीय सेवा प्रवाह गर्नेगरी व्यवस्थापन गरिने नगर प्रमुखले बताउनुभयो । साथै संस्थागत क्लिनिकलाई थप व्यवस्थित गर्ने विषयमा कार्यपालिकाबाटै टुंगोमा पुर्याउने समेत जानकारी दिनुभयो ।
![](https://www.sancharonline.com/wp-content/uploads/2018/04/DSC_0620.jpg)
छलफल कार्यक्रममा सहभागी केही व्यक्तिहरुले परिवार नियोजन क्लिनिकले तोकिएका सेवा सुविधा प्रवाह गर्न नसकेको र ठाउँ पनि अभाव रहेको भन्दै सार्नुपर्ने समेत माग गरेका थिए भने अन्यले सेवामा गुणस्तरीयता र प्रभावकारीता ल्याउनु पर्ने मुख्य कुरा भएको बताएका थिए ।
सहभागीहरुको बीचमा क्लिनिक सार्ने नसार्ने विषयमा धारणाहरु बाझिएको थियो । अन्ततः नगर कार्यपालिका बैठकबाट उचित निर्णय लिने र वडा नम्बर १४ को एक स्थानमा नगर स्वास्थ्य केन्द्र स्थापना गर्ने नगर प्रमुख चौधरीले प्रतिबद्धता जनाउनुभयो ।
संस्थागत क्लिनिकलाई वडामा मात्रै केन्द्रित गर्न नहुने र सबैको सहज पहुँच, पायक र अस्पताल भित्रै राख्दा उचित हुने भन्दै सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउनु मुख्य कुरा भएकोमा सहभागीहरुले निष्कर्ष निकालेका छन् ।
समितिका अध्यक्ष एवं वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर पौडेल, उपमहानगरका उपप्रमुख सीता न्यौपाने, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, उद्योग बाणिज्य महासंघ प्रदेशका उपाध्यक्ष हेमराज बन्जाडे, संघका जिल्ला अध्यक्ष नारायण भुसालले सेवालाई केन्द्रमा राखेर निर्णय लिनुपर्ने बताउनुभयो ।
त्यसैगरी, एमालेका नगर इन्चार्ज विवेक श्रेष्ठ, माओवादी केन्द्रका इन्चार्ज जीवन गौतम, कांग्रेसका सचिव शंकर डाँगी, पत्रकार महासंघका पूर्व अध्यक्ष प्रताप रेग्मी, रेडियो मध्यपश्चिमका अध्यक्ष माधवप्रसाद शर्मा, राप्तीपोष्ट दैनिकका सम्पादक शरद अधिकारी लगायत एक दर्जन बढी बक्ताहरुले क्लिनिकलाई सार्ने भन्दा सेवालाई गुणस्तरीय बनाउनतर्फ लाग्न उपयुक्त हुने धारणा राख्नुभयो ।
क्लिनिकले अहिले खोप लगाउने, गर्भवती जाँच गर्ने, परिवार नियोजनका अस्थायी साधनहरुको प्रयोग र वितरणमा मात्रै सेवालाई केन्द्रित गर्दै आएको छ । डाक्टर नहुँदा अन्य सेवाहरु प्रवाहमा समस्या भएको छ । वडा अध्यक्ष डाँगीले क्लिनिकलाई कसरी चलायमान र लक्षित सेवा दिन सकिन्छ भन्ने विषयमा आफू चिन्तित भएको बताउनुभयो । कार्यक्रमको सहजीकरण समितिका सदस्य शालिकराम आचार्यले गर्नुभएको थियो ।
Advertisements
![](https://www.sancharonline.com/wp-content/uploads/2021/06/1-1.jpg)
![](https://www.sancharonline.com/wp-content/uploads/2024/07/Tribeni-Salyan.jpg)
![](https://www.sancharonline.com/wp-content/uploads/2022/03/Darma-Police.jpg)