घोराही, ६ वैशाख । घोराही उपमहानगरपालिका वडा नम्बर १६ की उमा ओली सोच्नुहुन्थ्यो– ‘घरमा टिनको छानो मात्रै लगाउन पाए वर्षायाममा पानी चुहिने समस्या र खरको छानोमा आगलागीको जोखिम हट्ने थियो ।’ टिनको छानो फेर्ने रहर उहाँलाई नलागेको होइन तर भएको पैसाजति दुई छाक खाँदै र लाउँदैमा सकिन्थ्यो ।खर हटाई टिनको छानो लगाउने उहाँको सपना महिना दिन अघि पूरा भयो । जब घोराही उपमहानगरपालिका १६ ले खरको छानामुक्त अभियानअन्तर्गत उहाँको घरमा टिनको छाना लगाइदियो । देश झण्डै १० वर्षे जनयुद्धमा रुमल्लियो । त्यसपछि देशमा गणतन्त्र आयो । जनताले परिर्वतनको महसुस गरे । तर पूर्ण विकासको अनुभूति गर्ने पाएका थिएनन् । अब भने जनताले दुई दशकपछि स्थानीय सरकारबाट गाउँ–गाउँमा पनि विकासको अनुभूति गर्न थालेका छन् ।
‘पहिले आफ्नो गाउँठाउँको विकासका लागि केन्द्रको मुख ताक्नुपर्थ्यो । गुनासो पोख्न उस्तै गाह्रो । अझै विकास कहिले हुने पत्तै हुदैनथ्यो’– वडा नम्बर १६ का देउमन दमाईले भन्नुभयो– ‘अब त वडामै सजिलै गुनासो पोख्न पाइन्छ । गाउँ ठाउँमा चाहेको कुरा माग गर्न सकिन्छ ।’स्थानीय सरकार आएसँगै वडा कार्यालय मार्फत गाउँ ठाउँमा चाहिएका बाटाघाटोदेखि कल्भर्ट निर्माणजस्ता पूर्वाधार विकास भएको उहाँ बताउनुहुन्छ । केही बाटाघाटा रोलिङ, ग्रावेलिङ र कालेपत्रे समेत भएका छन् । जसका कारण हामी वडाबासीहरुले अब भने साँच्चै  विकासको महसुस गरेका छौँ– उहाँले  सुनाउनुभयो– ‘यिनै कुरा त थियो हामीले दशकौँदेखि चाहेको ।’ त्यस्तै आफ्नो वडाभित्र अन्य विकास र सुधारात्मक कुराहरुको अनुभूति गर्न पाउँदा उहाँ दंग मात्रै हुनुहुन्न, केही वर्षभित्रै गाउँको स्वरुप नै फेरिन्छ भन्नेमा पनि विश्वस्त हुनुहुन्छ ।घोराही उपमहानगरपालिका १६ का वडाध्यक्ष लछिनप्रसाद बुढा भन्नुहुन्छ– ‘जनप्रतिनिधि आइसके पछि जनताले विकासको अनुभूति गरेका छन् । हामी पनि उनीहरुलाई विकास र परिवर्तनको  अनुभूति गराउने उद्देश्यले लागिपरेका छौं ।’ जनप्रतिनिधि भएर जनताको सेवामा आइसकेपछि निःस्वार्थभावमा काम गर्नुपर्छ भन्ने सोचले आफूहरु अगाडि बढेको उहाँ बताउनुहुन्छ । ‘यो पहिलो वर्ष भए पनि हामीले थुप्रै प्रयासहरुको थालनी गरिसकेको छौँ–उहाँले भन्नुभयो–‘बजेटको समस्या र अरु चुनौती पनि थुप्रै छन् । तर पनि ती चुनौतीहरुलाई पार गर्न हामी सक्षम छौ ।’
वडाभित्र गर्नुपर्ने काम थुप्रै भए पनि बजेट पर्याप्त नहुँदा चाहेजति काम गर्न नसकेको  उहाँले बताउनुभयो । अझै पनि आवश्यक भौतिक पूर्वाधार र प्राविधिक साधन स्रोतको  अभावले उत्तिकै समस्या भएको उहाँ सुनाउनुहुन्छ । ‘तर पनि वडाबासीहरुलाई विकासको  अनुभूति गराउने कसरत गरिरहेका छौँ’– उहाँले भन्नुभयो–‘यो पाँच वर्ष पूर्णरुपमा नागरिकहरुको  गुनासो  सुन्दै वडावासीको सेवामा तल्लिन भएर लाग्ने अठोट लिएर अगाडि बढेका छौँ ।’
घोराही उपमहानगरपालिकाले स्थानीय सरकार आइसकेपछि नगरबासीहरुलाई विकास र परिवर्तनको अनुभूति गराउन थुप्रै योजनाहरुलाई नीति तथा कार्यक्रमहरुमा समावेश गर्दै  अगाडि बढेको छ । जसअनुसार यसवर्ष पहिलो चरणमा कार्यविधि र कानून निर्माण, सम्भावित क्षेत्रहरुलाई पर्यटन क्षेत्रकारुपमा विकास गर्ने जस्ता अन्य धेरै योजनाहरु रहेका छन् ।त्यस्तै पूर्वाधार विकास र निर्माणमा सडकलाई मुख्य पूर्वाधार मानेर अगाडि बढिरहेको घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरी बताउनुहुन्छ । सडक नपुगेका वडाहरुमा बाटोको  ट्रयाक खोल्ने, ग्रावेल गर्ने जस्ता कामहरु अगाडि बढाइरहेको उहाँ बताउनुहुन्छ । ‘विकासको मुख्य आधार नै सडक हो । सडक नपुग्दै अन्य क्षेत्रको विकास मुस्किल हुन्छ –मेयर नरुलाल चौधरीले भन्नुभयो– ‘विशेषगरी पहाडी भेगमा यस्ता सडकको समस्या छ ।’ त्यसैले  पनि हामीले पूर्वाधार विकासतर्फ सडकलाई प्राथमिकतामा राखेका छौँ ।
यसबाहेक स्वास्थ्य, शिक्षा र कृषिका क्षेत्रमा पनि थुप्रै योजनाहरु रहेको उहाँ बताउनुहुन्छ । ‘यस वर्ष कार्यविधि, कानुन र प्रोफाइल बनाउने जस्ता थुप्रै कामहरु छन्’– उहाँले भन्नुभयो– ‘यद्यपि हामी सबै नगरबासीलाई विकासको अनुभूति गराउने उद्देश्यले लागिपरेका छौँ। थुप्रै  काम भइरहेका छन्, अब विस्तारै परिणामहरु पनि आउँदै गर्नेछन् ।’
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस