घोराही, ७ वैशाख । राप्ती उपक्षेत्रीय अस्पताल अस्तव्यस्त ढङ्गले सञ्चालन भएको पाइएको छ । आज घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीसहित खानेपानी तथा सरसफाई स्वच्छता पत्रकार मञ्च वास फोरमले गरेको अनुगमनका क्रममा सेवा प्रवाह अस्तव्यस्त हुनुका साथै सरसफाइमा समेत कमजोर पाइएको हो ।
उपचारका लागि आएका बिरामीहरुले सहजै सेवा पाउन नसकेको र अस्पताल परिसरको सरसफाई अत्यन्तै कमजोर रहेको पाइएको छ । ओपिडीमा जाँचका लागि बस्ने केही डाक्टरहरु ११ बजे नै चिया पिउन निस्कने, बिरामीहरुले रिपोर्ट देखाउन डाक्टरलाई लामो समय कुर्नुपर्ने जस्ता समस्याहरु भोगेको बिरामीहरुले टोली समक्ष गुनासो गरेका छन् ।त्यसैगरी अस्पतालभित्रका शौचालयहरु सफा भए पनि अस्पताल परिसरमा भने फोहोरहरु यत्रतत्र छरिएर रहेको पाइएको छ । प्रसुति कक्षका शौचालय दुर्गन्धित रहेको र शौचालय भरिएर दिसापिसाब बाहिरै निस्केको पाइएको छ ।
अनुगमन तथा निरीक्षण परी नगर प्रमुख नरुलाल चौधरीले पद्धति र विधिअनुसार अस्पताल अघि बढ्न नसक्दा नागरिकहरुले दुःख पाउने गरेको बताउनुभयो । अस्पतालका निमित्त प्रमुख डा. प्रताप पोख्रेलसहितका कर्मचारीहरुलाई फोहोरलाई उचित व्यवस्थापन गर्न र नियमित डिउटीलाई पालना गर्न गराउन निर्देशन दिनुभयो ।साथै अस्पतालमा भर्ना भएका बिरामीहरुलाई खुवाउने भान्साघरको अवस्था पनि अत्यन्त नाजुक भेटिएको छ । दाउराको प्रयोगबाट खाना पकाउने गरिएको र अगेना छेउमै भाँडा मिस्ने गरिएको पाइएको छ । नगर प्रमुख चौधरीले सबै कमजोरीहरुलाई सुधार गर्न सकिने भएकाले गुणस्तरीय र भरपर्दो सेवा प्रवाह गरेर नागरिकको मन जित्न आग्रह गर्नुभयो ।
अनुगमनमा नगर प्रमुख चौधरीसहित वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगी, वडा नम्बर १८ का अध्यक्ष भरत अर्याल, वडा नम्बर १५ का सदस्य दिलिपकुमार डिसी, वास फोरमका अध्यक्ष गोविन्द खड्कासहित एक दर्जन पत्रकारहरुको सहभागिता रहेको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस