श्रीराम चौधरी
घोराही, ५ जेठ । दाङ जिल्ला उद्योग वाणिज्य संघले सुनचाँदी व्यवसायी र सुरक्षित कुखुरा तथा दाना व्यवसायीहरुका लागि शनिबार घोराहीमा कर शिक्षा तालिम सम्पन्न गरेको छ । संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षतामा सम्पन्न तालिममा ८० बढी व्यवसायीहरुको सहभागिता रहेको थियो ।
विद्यमान कर प्रणाली, बिल बिजक कसरी जारी गर्ने, भ्याट/पान, खरिद बिक्री खाता कसरी व्यवस्थित गर्ने लगायतका विषयमा तालिम केन्द्रित रहेको थियो । तालिमको उद्घाटनका अवसरमा संघका पूर्व अध्यक्ष एवं मानार्थ सदस्य रामदयाल गुप्ता, घोराही उपमहानगरपालिका–१५ का अध्यक्ष रमेशकुमार पाण्डे, सुरक्षित कुखुरा तथा दाना व्यवसायी समितिका सचिव नीमबहादुर बुढाथोकीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
तालिमको प्रशिक्षकमा आन्तरिक राजश्व कार्यालय तुलसीपुरका कर अधिकृत धर्म रोकाय र लेखा परीक्षक थम्मन अधिकारी रहनुभएको थियो । संघले अभियानका रुपमा सञ्चालन गर्दै आएको कर शिक्षा तालिममा हालसम्म तीन सय ४६ बढी व्यवसायीहरुलाई तालिम प्रदान गरिसकेको छ । तालिमको उद्घाटन समारोहको सहजीकरण संघका महासचिव नरेश कार्की र सचिव मायाकुमारी पोख्रेलले गर्नुभएको थियो ।












