घोराही, ११ जेठ । रजमती थापा उमेरले ७९ बर्ष पुग्नुभयो । ५ वटा बालबच्चा जन्माउनुभयो । गर्भअवस्थामा उचित स्याहार र ध्यान नपुग्दा उहाँको स्वास्थ्य नाजुक बन्यो । ९/१० वर्षदेखि उहाँले पेटको समस्या बोकेर बिभिन्न अस्पताल धाउँदै हुनुहुन्छ ।
घोराही उपमहानगरपालिका ८ निवासी रजमतीलाई पाठेघरको समस्याले ग्रसित बनाएको छ । ‘दर्जनौ अस्पतालहरुमा पुगेँ तर निको नै हुँदैन, कस्तो रोग लागेछ?’ रजमतीले भन्नुभयो । तल्लोपेट दुख्ने मात्रै अनुभव छ उहाँलाई तर भित्र कति असर पुगेका छ भन्ने अझै पत्तो लागेको छैन् । ‘५ वटा छोराछोरी जन्माएँ’ उहाँले भन्नुभयो ‘गर्भअवस्थामा ख्याल नपुर्‍याउँदा त अहिले समस्या आएको होला । जहाँ गयो डाक्टरले एक थोक भन्नुहुन्छ र औषधि दिनुहुन्छ औषधीको पोकाहरु थुप्रै ल्याएँ तर निको नै हुँदैन ।’ घोराही उपमहानगरपालिका वडा नम्बर ८ ले मर्पामा आयोजना गरेको स्वास्थ्य शिविरमा आउनुभएकी रजमतीले फेरि पनि रोग डाक्टरलाई देखाउनुभयो । रजमती मात्रै हैन कलिलो उमेरकी तिलसरी नेपालीलाई पनि पेटकै समस्या रहेको छ । ‘वर्षौदेखि पेट दुख्न थालेको हो’ तिलसरीले भन्नुभयो ‘निको नै नहुने कस्तो रोग रैछ । दर्जनौँ पटक भिडियो एक्सरे गराएर औषधि खाएँ तर निको नै हुँदैन ।’ ४३ वर्षीया तिलसरीले अस्पताल पुगेर औषधि खाँदा खाँदा थाकिसकेको बताउनुभयो ।
ढिकपुर सेवारकी ८० बर्षिया पूर्णकुमारी रावतको समस्या पनि उस्तै छ । ७ सन्तानकी आमा पूर्णकुमारीलाई ढाड, छाती र पेट दुख्ने समस्याले आजित बनाएको छ । ‘औषधी खाइखाइ मर्ने भइन्छ कि क्या हो भन्ने लागेको छ अब त’ उहाँले भन्नुभयो ‘औषधी पोको पारेर लग्यो ठीक हुँदैन । शिविरमा आएका अधिकांश महिलाहरुको पेटकै समस्या बढी देखिएको डा. अनुपमा शर्माले बताउनुभयो । महिलाले आफ्नो स्वास्थ्यको ख्याल राम्रोसँग नगर्दा यस्ता समस्याहरु आउने उहाँले बताउनुभयो— ‘गर्भावस्था मात्रै हैन अन्य बेलामा पनि महिलाहरुले आफ्नो शरीरलाई मारेर काम गर्ने गरेको देखिन्छ र यसको असरहरु जटिल देखिन्छ ।’ शिविरमा आएका युवायुवतीदेखि एक सय वर्षसम्मका जेष्ठ नागरिकहरु समेत उपचारमा पुगेका छन् ।
घोराही उपमहानगरपालिकाले अघि सारेको जेष्ठ नागरिकहरुलाई गाउँमै उपचार सेवालाई निरन्तरता दिँदै वडा नम्बर ८ को कार्यालयमा शिविरको आयोजना गरेर उपचार गरिएको हो । आयुर्वेद डा. नागेश्वर मिश्र, प्रसूति रोग विशेषज्ञ डा. अनुपमा शर्मा र एलोपेथिक डा. रविन चन्दले शिविरमा आएका नागरिकहरुको उपचार गर्नुभएको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस