घोराही, २४ फागुन । महिलाहरुको अधिकार र न्याय स्थापित गर्न साझा सोच बनाउनुपर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

घोराही उपमहानगरपालिका वडा नम्बर १४, १५ र १६ को आयोजना तथा सौभाग्य महिला विकास बचत तथा ऋण सहकारी संस्थाको समन्वयमा भएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बोल्ने वक्ताहरुले महिलाहरुको मुद्दालाई साझा बनाउनु पर्नेमा जोड दिएका हुन् ।

लैंगिक समानताले मात्रै विकास हुने भन्दै उनीहरुले घर परिवारबाटै सम्मानको वातावरण सिर्जना गर्नुपर्ने बताए । श्रमको उचित सम्मान र मूल्य कायम हुन नसकेको भन्दै वक्ताहरुले लैंगिक हिसाबले श्रममा विभेद गर्न नहुने धारणा राखे ।

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको अध्यक्षता एवं जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वक्ताहरुले अब अधिकार र न्यायका विषयमा राजनीतिक विभाजन आउन नहुने बताए ।

प्रमुख अतिथि नेपालीले सत्ता जनताको हातमा आएकाले अब अधिकार र न्यायका लागि जुलुस र नारा लगाउनु नपर्ने बताउनुभयो । काम गरेर जनतालाई अधिकार सम्पन्न बनाउने अवस्थामा रहेको भन्दै सबैको श्रमको उचित मूल्याङ्कन हुने दावी समेत गर्नुभयो । सामाजिक संस्कारका कारण अहिले पनि श्रममा लैंगिक विभेद हुने गरेको भन्दै उहाँले अब त्यसको अन्त्यका लागि कानुन कार्यान्वयनमा स्थानीय सरकारलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता न्यौपाने, महिला तथा बालबालिका कार्यालयका प्रमुख विश्वमणि जोशी, घोराही १४ का अध्यक्ष शक्तिराम डाँगी, १६ का अध्यक्ष लछिनप्रसाद बुढा, सामुदायिक वन महासंघका अध्यक्ष शोभाकर सापकोटा, नागरिक समाजका सदस्य श्रीमन न्यौपाने, शिक्षक संगठनका अम्बिका बिष्ट, अनेमसंघ क्रान्तिकारीका सीता चौधरी, सुआराका सुरजकुमार शर्मालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । वक्ताहरुले समान कामको समान ज्याला र मजदूरहरुलाई उचित पारिश्रमिक कार्यान्वयनमा ल्याउन स्थानीय सरकारलाई आग्रह गरेका थिए ।

कार्यक्रमको सहजीकरण शौभाग्य महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुमा डिसीले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस