दुब्लापातलालाई मोटाउन सजिलो छ । खाना बढी खाने, प्रशस्त आराम गर्ने, अरु समयभन्दा अरु बढी सुत्ने र फेरि खानेकुराहरु खान नछाड्ने । तर, मोटाउँदै जान थालेपछि दुब्लाउन भने साँच्चै सोचेजस्तो सहज छैन । लागिसकेको भद्दा ज्यान घटाउन साँच्चै मुस्किल छ । भन्नेहरुले त कम खाने अझ भोकभोकै बस्ने (डाइटिङ) हो भने ज्यान मज्जाले घट्छ पनि भन्छन् तर यो तरिका केबल पागलपन हो । भोकभोकै बस्दा शरीर कमजोर त हुन्छ नै रोगलाई समेत स्वागत गर्नु हो । त्यसो हो भने प्राकृतिक रुपमै कसरी मोटोपन घटाउने त ?

मज्जाले सुत्नुस्
म अब मोटोपन घटाउन थाल्दैछु भनेर मानसिक रुपमै तयार हुनुस् । जाँगर चलेको बेला योजना बनाउने र भोलिपल्टै लागु गर्न नसक्ने आम चुनौति हो । बिहान ६ बजे उठ्नुछ भनेर मोबाइलमा अलाम लगाउँदै हुनुहुन्छ भने बेलैमा सुत्नुस् । ६ देखि ८ घण्टा आरामसँग सुत्नुस् ।एक अध्ययनका अनुसार शरीरलाई आवश्यक निन्द्रा नपुग्दा पनि मोटोपन, मधुमेह जस्ता समस्याहरु देखा पर्दछन् । अर्को महत्वपूर्ण विषय राम्रोसँग सुत्ने मानिसले खानेकुराहरु पनि राम्रोसँग खान र पचाउन सक्दछ । राम्रो निन्द्राले शरीरको मांसपेशीलाई पुनर्निर्माण हुन समय दिन्छ भने मानव शरीरको महत्वपूर्ण अंग दिमागले समेत आराम पाउँछ ।

खाना र खाने समयमा ध्यान दिनुस्
नियमित घरकै खाना खानुस् । चिल्लोपिरो भन्दा पनि सहजै पच्ने खानेकुराहरु खानुस् । बढी भात खाने बानी त्याग्नुहोस् । भातको साटो गहुँको पिठोबाट बनेका रोटी तथा अन्य परिकार, मकैको च्याँख्लाको भात, ब्राउन राइस खाने गर्नुहोस् । दही, दूध, फलफूललाई बढी प्राथमिकता दिनुस् । महत्वपूर्ण विषय के भने पाचन प्रणालीलाई सक्रिय राख्न साँझको खाना खाएको कम्तिमा पनि १ देखि ३ घण्टापछि मात्र सुत्नुस् ।कागती पानी, ग्रिन टीलगायतको नियमित सेवनले पनि शरीरमा बोसो लाग्न पाउँदैन । खाना एवं खाजा खाइसकेपछि मरिच चपाउने बानी बसाल्नुस् । एक अध्ययनका अनुसार नियमित मरिच खाने हो भने यसले सहजै शरीरको बोसो पगाल्छ । खानामा पनि मरिच मिसाएर खानेहरु प्राकृतिक रुपमै मोटोपनको समस्याबाट टाढा रहन सक्छन् ।

प्रसस्त पानी पिउनुस्
दैनिक प्रसस्त मात्रामा पानी पिउनुहोस् । एकैचोटी धेरै पानी पिउने र लामो समय पानी नपिउने भन्दा पनि समय अन्तरालमा पानी पिउने गर्नुस् । पानीले विषाक्त पदार्थ शरीरबाट उत्सर्जन गर्न सहयोग पुर्‍याउछ । चिनीयुक्त पेयपदार्थ जस्तै कोकाकोला, पेप्सीजस्ता पेयपदार्थबाट टाढै बस्नुस् ।यो पनिः सुत्नुअघि मोबाइल चलाउन छाडिदिनुस् ।

बिहान दौडिनुस्बिहान नियमित दौडिनेहरु शारीरक रुपमा स्फूर्त त हुन्छन् नै यसले मोटोपन घटाउन समेत उल्लेख्य मात्रामा सहयोग गरिरहेको हुन्छ । दैनिक कम्तिमा ३० मिनेट मात्रै दैडिने हो भने पनि केही दिनको अन्तरालमै शरीरको बोसो घट्दै गएको अनुभूति गर्नु हुनेछ । घरबाहिर निस्कनु पर्ने छ र तपाईंसँग प्रशस्त समय छ भने सकभर हिँडेरै काम सम्पन्न गर्नुस् । सवारीसाधनको प्रयोगलाई कम गर्दै लैजान सक्नुभयो भने पनि शरीरको बोसो अवस्य नै घट्नेछ ।

सामूहिक रुपमा व्यायाम गर्नुस्
मानिसको स्वभाव नै हो एक्लै कुनै काम गर्नुपर्‍यो भने निकै अल्छी भइहाल्छ तर सोही काम समूहमा गरियो भने धेरै प्रभावकारी हुन्छ । नियमित व्यायाम पनि समूहमा गर्नुभयो भने स्वतः थप ऊर्जा मिल्छ र धेरै लामो समय व्यायाम गर्न सकिन्छ । दैडने, उफ्रने एवं कुद्ने लगायतका व्यायामहरु समूहमा निकै प्रभावकारी हुन्छन् । एक आपसमा सहयोग मिल्ने हुँदा पनि नियमित व्यायाम गर्न थप उर्जा मिल्दछ । बिदाको समयमा र फुर्सदको समयमा समूहमा हाइकिङ्, साइक्लिङमा निस्कन सक्नुभयो भने पनि शरीरलाई स्फूर्तिका साथै शरीरको बोसोपन घट्दै जानेछ ।

नियमित योग गर्नुस्
शरीर, मन र आत्मालाई एकै साथ जोड्ने काम नै योग हो । हिन्दू एवं बौद्ध धर्ममा योग प्रचलित छ । शरीरको बोसोको मात्रा घटाउन सूर्य नमस्कार योग धेरै नै प्रभावकारी छ । दुई हात जोडेर सुरु गरिने सूर्य नमस्कारले शरीरको मोटोपना त अवस्य नै घटाउँछ, साथमा शरीरको मजबुती एवं लचकता, दिमागलाई केन्द्रीकृत एवं आराम, रगत सञ्चालन र माशंपेसीको सुरक्षा क्षमता बृद्धिको लागि सूर्य नमस्कार प्रभावकारी योग हो ।पेटको मोटोपना घटाउन दुबै हातगोडा टेकेर पेटलाई दबाव दिने योग आसन पनि प्रभावकारी योग हो ।  यो आसन सेटअप व्यायामभन्दा कैयनगुणा प्रभावकारी हुन्छ । यो आसन निकै कठिन पनि छ । मोबाइलमा टाइमर सेट गरेर दैनिक १ मिनेटसम्म आसनमा बस्न सक्नुभयो भने पहिलो हप्तामै पेटको साइज घट्दै गएको अनुभूति गर्ने अवसर पाउनुहुनेछ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस