घोराही, ११ चैत्र । दाङको घोराहीमा विशेषज्ञ सेवासहितको बुद्ध इन्टरनेशनल हस्पिटल प्रालिको उद्घाटन गरिएको छ । गत पुस १ गतेदेखि सेवा सुरु गरेको हस्पिटलको आज औपचारिकरुपमा उद्घाटन गरिएको छ ।
हस्पिटल सञ्चालन समितिका अध्यक्ष बमबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले रिवन काटेर हस्पिटलको उद्घाटन गर्नुभएको हो ।
घोराही उपमहानगरपालिका १५ सडक विभागको ओरालोमा स्थापना गरिएको हस्पिटलमा ६ जना व्यक्तिले करिब ३ करोड रुपैयाँको लगानी गरेको अस्पतालका प्रबन्ध निर्देशक डा. रमेश बस्नेतले जानकारी दिनुभयो ।
हस्पिटलले इमरजेन्सी, ओपिडी, भर्ना, डिजिटल एक्सरे, अप्रेशन, ल्याबसहित फार्मेसी सेवा चौबीसै घण्टा दिँदै आएको छ । त्यसैगरी दुरविन विधिबाट पत्थरी अप्रेसन, पिसाब नली, पिसाल थैलीको पत्थरीको अप्रेसन गर्ने गरिरहेको डा. बस्नेतले बताउनुभयो ।
![](https://www.sancharonline.com/wp-content/uploads/2018/03/mayor.jpg)
त्यसैगरी हर्निया, एपेन्डीसाइटिस, हाइड्रोसिल, पाएल्स, फिसर, फिस्टुला, स्तमा मासु पलाएको र शरीरमा आएको गाँठागुँठीको अप्रेसन हुँदै आएको अस्पतालले जनाएको छ । कार्यक्रममा प्रमुख अतिथि मेयर चौधरीले सेवामा व्यवहार र उपचारमा गुणस्तरीयता अनिवार्य हुनुपर्ने बताउनुभयो ।
जिल्लामा अस्पतालहरु धेरै भए पनि भरपर्दो र आवस्यक सेवाहरु नहुँदा नागरिकहरुले दुःख पाउने गरेको भन्दै मेयर चौधरीले सुलभमा भरपर्दो र गुणस्तरीय सेवालाई प्राथमिकतामा राख्न आग्रह समेत गर्नुभयो ।
मेयर चौधरीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई साझा सम्पत्तीको रुपमा विकास गर्नुपर्ने भन्दै कानुनसम्मतरुपले अघि बढ्ने र कसैको स्वार्थका कारण धरापमा पार्न नहुने बताउनुभयो ।
कार्यक्रममा वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेय, नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासन, जनस्वास्थ्य कार्यालयका परिवार नियोजन अधिकृत किशोर आचार्य, कालिका मेडिकलका सञ्चालक बद्रीकुमार खड्का, शान्तिसुधा विद्यालयका प्रिन्सिपल विनयकुमार मिश्र लगायतले सबैलाई स्वास्थ्यप्रति सचेत बन्न आग्रह गर्नुभयो ।
हस्पिटल सञ्चालक समितिका सदस्य बालाराम शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नारायणप्रसाद शर्माले गर्नुभएको थियो ।
Advertisements
![](https://www.sancharonline.com/wp-content/uploads/2021/06/1-1.jpg)
![](https://www.sancharonline.com/wp-content/uploads/2024/07/Tribeni-Salyan.jpg)
![](https://www.sancharonline.com/wp-content/uploads/2022/03/Darma-Police.jpg)