घोराही, १२ चैत्र । घोराही उपमहानगरपालिकाले गर्मी र हावाहुरी चल्ने मौसममा आगलागीका जोखिमहरु बढ्ने भन्दै सावधानी अपनाउन नगरबासीहरुलाई अनुरोध गरेको छ ।
उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले सोमबार एक विज्ञप्ति जारी गरी गर्मी मौसममा हुने आगलागीबाट बच्न र बचाउन नगरबासीलाई अनुरोध गर्नुभएको हो ।
हावाहुरी र सुख्खा मौसम सुरुवात भएकोले आगलागी, डढेलो तथा अन्य बिपद्का घटना घट्नसक्ने उच्च जोखिमहरु रहेको भन्दै मेयर चौधरीले सबै नगरबासीलाई सचेत रहन आग्रह गर्नुभएको छ ।
आगो बालेपछि राम्ररी निभाउने, सलाई, लाइटर जस्ता आगोजन्य वस्तु बालबालिकाहरुले नभेट्ने ठाउँमा राख्ने, चाँडै आगलागी हुने पेट्रोल, मट्टितेल, डिजेल, दाउरा, पराल आगोबाट टाढै राख्ने, बिजुलीको तार सर्ट नहुने गरी व्यवस्थापन गर्न समेत मेयर चौधरीले विज्ञप्तिमार्फत आग्रह गर्नुभएको छ ।
आगलागीसहित कुनै पनि बिपद्का घटनाहरुलाई हुन नदिने गरी सचेतना अपनाउन आग्रह गर्दै मेयर चौधरीले घटना भैहाले तत्काल प्रहरीलाई खबर गर्न र नियन्त्रणमा ल्याउन सहयोगीको भूमिकामा जुट्न समेत नगरबासीलाई आग्रह गर्नु भएको छ ।
यस वर्षको गर्मी मौसम सुरु हुँदै गर्दा झण्डै एक दर्जन घरहरुमा आगलागी भएको समेत उपमहानगरपालिकाले जनाएको छ । आगलागीको जोखिमबाट बचाउन आगामी दिनमा उपमहानगरले नगरलाई खरको छानो मुक्त बनाउने गरी नीति कार्यक्रम ल्याउने समेत मेयर चौधरीले उल्खेल गर्नुभएको छ ।
यसै आर्थिक वर्षमा घोराही उपमहानगरपालिका १६ नम्बर वडाका खरले छाएका घरहरुमा टिन लगाउन सुरु भएको समेत विज्ञप्ति मार्फत जानकारी दिइएको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस