घोराही, १९ चैत । दाङका पशुपालक किसानहरु पशुपंक्षी बिमा गराउन अग्रसर देखिएका छन् । बिमा गराउँदा सरकारले अनुदान दिन थालेपछि दाङ जिल्लामा पशु बिमा गर्ने क्रम बढ्दै गएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।
पशु बिमा गर्दा लाग्ने कुल खर्चको ७५ प्रतिशत रकम सरकारले अनुदान बापत बिमा कम्पनीलाई भुक्तानी दिएसँगै पशुपंक्षी बिमा गर्ने क्रम बढ्दै गएको कार्यालय प्रमुख डा. चन्द्रबहादुर रानाले जानकारी दिनुभएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म दाङमा ८ हजार ७ सय ७६ पशुपंक्षिको बिमा भएको छ ।
गाईभैसी २ सय ४, बाख्रा २ सय ९४, बङ्‍गुर ४९, कुखुरा लेयर्स १ हजार ८ सय र ब्रोइलर ६ हजार २ सय २९ वटाको बिमा गरिएको पशु सेवा कार्यालयले बताएको छ । २०७१ साल देखि जिल्लामा पशुपंक्षीहरुको बिमा गराउन थालिएको र अहिलेसम्म १ सय ६३ जनाले पशु बिमा गराएका छन् । ती पशुको बिमा गरेबापत ४ करोड ६३ लाख ४८ हजार रुपैयाँ सङ्कलन भएको छ ।
जिल्लामा चारवटा बिमा कम्पनीहरुले पशुपंक्षीको बिमा गराउँदै आएका छन् । नेश्नल लाइफ इन्सोरेन्स, सिद्धार्थ इन्सोरेन्स, शिखर इन्सोरेन्स र एभरेष्ट इन्सोरेन्स बिमा कम्पनीले पशुपंक्षिको बिमा गराउँदै आएको पशु सेवा कार्यालयका प्रमुख डा. रानाले बताउनुभयो ।
बिमा कम्पनीले एउटा पशुको एक वर्षका लागि निर्जीवन बिमा गर्दै आइरहेको छ । बिमाको प्रक्रिया अनुसार बिमा गर्ने पशुको स्वास्थ्य जाँच गरी कानमा चिन्ह लगाइन्छ । पशु चिकित्सकले स्वास्थ्य परीक्षण प्रमाण–पत्र दिएपछि मूल्याङ्कन गरी बिमा कम्पनीलाई प्रस्तावको रुपमा पठाउने गरिएको छ । कम्पनीबाट अन्तिम भएर आएपछि बिमा गर्ने गरिएको छ ।
कुखुराको बिमा रकम सरदर ७ सय रुपैयाँ पर्ने गरेको छ । त्यस्तै उन्नत गाईको बिमा रकम १ लाख ५० हजार रहेको छ । त्यसैगरी उन्नत भैंसीको बिमा १ लाख २५ हजार सम्म रहेको छ । बिमा बापतको जम्मा गर्नुपर्ने रकम मध्य २५ प्रतिशत किसान र ७५ प्रतिशत पशु सेवा कार्यालयले रकम बुझाउने व्यवस्था रहेको छ ।
बिमा कार्यक्रम अन्तर्गत बिमा गरेको पशु एक वर्षभित्रै मरेमा मूल्याङ्कन भए अनुसारको क्षतिपूर्ति पशुधनीले पाउने गर्दछन् । पशु सेवा कार्यालयले पशुपालक किसानहरुलाई बिमाप्रति आकर्षित गराउनका लागि सार्वजनिक सूचना प्रकाशन, गोष्ठी एवं अन्य कार्यक्रमहरु गर्दै आएको छ । त्यसैगरी बिमा अभिकर्ताहरुले पनि गाउँगाउँमा पुगेर किसानहरुलाई बिमा गराउनतर्फ अग्रसर गराउने गरेका छन् ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस