भालुबाङ, २२ चैत । राप्ती गाउँपालिकाले गाउँपालिकाभित्रका बिपन्न अनाथ बालबिलिकाहरुलाई वार्षिक ६ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।
गाउँपालिकाले अनाथ बालबालिकाहरुका लागि महिला तथा बालबालिका कोषबाट मासिक पाँच सयका दरले वार्षिक रुपमा एकमुष्ट ६ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । अनाथ बालबालिकाहरु शिक्षाबाट वञ्चित हुनुका साथै अलपत्र अवस्थामा भेटिन थालेपछि उनीहरुको संरक्षणका लागि गाउँपालिकाले सहयोगको कार्यक्रम अघि सारेको हो ।
गाउँपालिकाबाट कुनै किसिममा सामाजिक सुरक्षा भत्ता प्राप्त नगरेको, बाबुआमा दुवै मरेका वा बेपत्ता भएको, १६ वर्ष पूरा नभएको, राप्ती गाउँपालिकाभित्र जन्म भएको वा स्थायी बासिन्दा रहेका अनाथ बालबालिकालाई सहयोग गरिने प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले जानकारी दिनुभयो ।
अनाथ बालबालिकाहरुको यकिन गर्न सबै वडा कार्यालयहरुलाई पत्राचार गरिएको र सम्बन्धित वडाको सिफारिसका आधारमा सहयोग प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।
१८ जना अनाथ बालबालिकाहरुको विवरण हालसम्म गाउँपालिकामा प्राप्त भएकाले आर्थिक वर्षको सुरुसँगै ती बालबालिकाहरुलाई एकमुष्ट ६ हजारका दरले सहयोग उपलब्ध गराइने गाउँपालिकाले तयारी गरेको छ ।

