घोराही, २५ चैत । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले स्वास्थ्यलाई अमूल्य सम्पत्तिका रुपमा बुझ्न आग्रह गर्नुभएको छ । घोराही उपमहानगरपालिकाको आयोजना तथा सुआहारा र युएसएआइडीको सहयोगमा ७०औँ विश्व स्वास्थ्य दिवसका अवसरमा वडा नम्बर ६ मा शनिबार आयोजित कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले स्वास्थ्यलाई अमूल्य सम्पत्तिका रुपमा लिन आग्रह गर्नुभएको हो ।
स्वस्थ व्यक्ति र स्वस्थ समाज विना विकास एवं समृद्धि असम्भव रहने उल्लेख गर्नुभयो । कुनै पनि रोगबाट बच्नका लागि सरसफाई, खानपान, आनीबानी, पोषण नियमित स्वास्थ्य जाँचलगायतका आधारभूत कुराहरुमा विशेष ध्यान दिन नगरबासीहरुलाई उहाँले आग्रह समेत गर्नुभएको छ ।
सामान्य देखिने फोहोरका कारण दर्जनौँ रोगहरु लाग्ने गरेको भन्दै उहाँले स्वस्थ बन्न पहिले सरसफाईमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । स्वस्थ व्यक्तिले मात्रै प्रगति गर्नसक्ने भन्दै पैसा खर्च नगरेर हुने सुधारलाई आत्मसाथ गर्न पनि आग्रह गर्नुभयो ।
कार्यक्रममा राप्ती उपक्षेत्रीय अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. जनार्दन पन्थीले रोग लाग्नुभन्दा लाग्नै नदिने सुरक्षित उपायहरु खोज्न नागरिकहरुलाई आग्रह गर्नुभयो । पहिले घर, व्यक्ति सफा भए मात्रै समाज र राष्ट्रलाई स्वस्थ राख्न सकिने भन्दै उहाँले आफ्नो स्वास्थ्यप्रति आफै सचेत बन्न सुझाव दिनुभयो ।
कार्यक्रममा सुआहाराका जिल्ला संयोजक सुरज शर्माले गुणस्तरीय स्वास्थ्य र स्वस्थ जीवनका लागि गर्भ अवस्थाबाटै स्याहार उचित हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, वडा नम्बर ६ का अध्यक्ष रेबबहादुर बुढाथोकी, स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्ती, परिवार नियोजन संघका प्रवन्धक वसन्त खनाल, युएनएफपिएका अरुण जोशी, औषधि व्यवसायी संघका अध्यक्ष भुवनेश्वर बुढा लगायतले आफ्नो स्वास्थ्यप्रति आफै सचेत र जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।
निशा खनालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा ध्रुवबिरही रन्जन र हेमराज गन्धर्वले सचेतनामूलक गीत गाउनुभएको थियो भने सहजीकरण स्वास्थ्य शाखाका ठाकुर खनालले गर्नुभएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस