घोराही, २५ चैत । गर्मीयाम लाग्दा खानेपानीको समस्या प्रायः धेरै ठाउँमा हुन्छ तर घोराही उपमहानगरपालिका–१९ का थकालीकोटबासी बाह्रै महिना काकाकुल थिए । पानीका लागि हारगुहार धेरै ठाउँ गरे । सुनुवाई नहुँदा सेवार खोलाको पानी खाएर गुजारा गरेका थकालीकोटवासीले ६७ वर्षपछि आगनमै धारा पाएका छन् ।

ढिलै भए पनि गरिबी निवारण कोषले दलित र जनजाति बाहुल्य रहेको थकालीवस्तीमा खानेपानी पुर्‍याएपछि स्थानीय हर्षित छन् । बाउपुस्ता ७ सालमा यहाँ बसेको हो, हामी यही जन्मियौं स्थानीय एवं थकालीकोट सामुदायिक संस्थाका अध्यक्ष डम्मरबहादुर रानाले भन्नुभयो– ‘गएको माघदेखि घरमै पानीको धारा आएपछि सेवार खोलाको पानी खान छोडेका छौं ।’ थकालीकोटका दुई साना गाउँमा ७ वटा धारा ल्याइएको छ । दुई घर बराबर १ धाराको व्यवस्था गरिएको अध्यक्ष रानाले जानकारी दिनुभयो । कुल १४ घरधुरी रहेका थकालीकोटमा पानीका धारा आएपछि सबैभन्दा धेरै त गृहिणी खुशी छन् ।

‘बाह्रैमास सेवार खोलाको पानी बोक्नुपर्थ्यो’ स्थानीय छमाकुमारी बुढाले भन्नुभयो– ‘घरमै धारा आएपछि केही सुख भएको छ ।’ वर्षायाममा खोला धमिलो हुँदा थप सास्ती खेप्नु परेको दिन सम्झदै छमाले दुःखका दिन गएको महसुस गरेको बताउनुभयो । ‘नखाउँ उपाय नै थिएन, पानीका मुल नजिक पनि थिएनन्’ अर्की गृहिणी प्रेमीला पुनले भन्नुभयो– ‘खोलाको पानी खानुपर्ने बाध्यताले बिरामी पनि हुनु परेको छ ।’ उहाँले गाइवस्तु र मान्छेले एउटै खोलाको पानी खानुपर्ने बाध्यता हटेकोमा खुशी व्यक्त गर्नुभयो ।

थकालीकोटबासीहरुले झण्डै डेढ किलोमिटरमाथि पहाडबाट गाउँमा पानी ल्याएका छन् । बान्द्रे भन्ने स्थानमा रहेको सानो मुललाई संरक्षण गरेर ट्याङ्की निर्माण गरेका छन् । जसबाट पानी उपल्लो पाखामा रहेको ७ हजार लिटरको रिजर्व ट्याङ्कीमा संकलन गरी तल गाउँमा झारेको थकालीकोट सामुदायिक संस्थाले जनाएको छ ।

गरिबी निवारण कोषको ५ लाख ४५ हजार २ सय ५२ र स्थानीयको २ लाख बरावरको श्रमदानबाट खानेपानी आयोजना निर्माण गरिएको परियोजना सहजीकरण गरिरहेको स्थानीय विकास कोषका सहजकर्ता अरुण पन्थीले जानकारी दिनुभयो । ‘गर्मीयाममा दिनमा एक समयमात्रै पानी खोलिएको छ’ पन्थीले भन्नुभयो– ‘एक समय पानी आउँदा खानेपानी पुगेको छ, अन्य सिजनमा साँझ विहान धारा चल्दा थप सहज हुनेछ ।’

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस