घोराही, ६ वैशाख । दाङको घोराहीमा प्रहरीले ३ जना पकेटमारलाई २ लाख ७५ हजार रुपैयाँसहित पक्राउ गर्न सफल भएको छ । घोराही उपमहानगरपालिका १४ नयाँबसपार्कमा दुईजना व्यक्तिको पकेट काटेर लुटेको २ लाख ७५ हजार रुपैयाँसहित तीन जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
रोल्पाको लिबाङ नगरपालिका वडा नम्बर ६ कोटगाउँ निबासी पूर्णबहादुर घर्तीमगरको पकेट काटेर लुटिएको १ लाख ७५ हजार र रोल्पा परिवर्तन गाउँपालिका ६ कर्तम निबासी किरत बहादुर पुनमगरको एक लाख रुपैयाँ लुटेका दाङका तीन जना युवाहरुलाई प्रहरीविट नयाँबसपार्कले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका ७ झुमरिया निबासी ३५ वर्षीय विक्रम नेपाली, ३४ वर्षीय राजकुमार नेपाली र ३३ वर्षीय यज्ञबहादुर नेपाली रहेका छन् । उनीहरुले यात्रुहरु बसमा चढ्दै गर्दा पकेटलाई ब्लेडले काटेर पैसा निकालेर फरार भएको प्रहरी विटका इन्चार्ज प्रहरी सहायक निरीक्षक मानबहादुर महराले जानकारी दिनुभयो ।
यज्ञराजलाई बसपार्क नजिकैबाट र विक्रम र राजकुमारलाई सौँडिकुलाबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको इन्चार्ज महराले बताउनुभयो । लुटिने व्यक्तिहरु दुवै भुतपूर्व भारतीय सैनिक रहेका छन् ।
घोराहीको चौघेरामा पेन्सन बुझेर घर फर्कदै गर्दा पकेटमारहरुले उनीहरुबाट रकम लुटेका थिए । घटनामा संलग्न अन्य दुई जना गणेश भण्डारी र स्याने नेपाली भने फरार रहेको प्रहरीले जनाएको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस