घोराही, ६ वैशाख । जिल्लाको मानवअधिकार सवाल र बदलिँदो संरचनामा नागरिक सेवालाई सुदृढ गर्न सरोकारवालाहरुले जोड दिएका छन् ।
जिल्लास्तरीय मानवअधिकार निगरानी समूहको त्रैमासिक बैठकमा बोल्दै सरोकारवालाहरुले राज्यपुनरसंरचनापछिको अवस्थामा मानवअधिकार सवाल तथा जनताले पाउने सेवा प्रवाहका विषयमा छलफल गरिएको हो । तीन तहको सरकारी संरचनाले नागरिक सेवामा आएको सहजता र अप्ठ्याराका बारेमा गम्भीर हुनुपर्ने उनीहरुको जोड थियो ।कतिपय अवस्थामा स्थानीयतहमा जनप्रतिनिधिकै मनमुटाव, स्रोत साधनको बाँडफाड, कर्मचारी अभाव, कर्मचारी र जनप्रतिनिधिबीचको टकरावले नागरिक सेवा थप फितलो बन्ने खतरा रहेको चर्चा गर्दै सरोकारवालाहरुले सहज नागरिक सेवा प्रवाहका लागि आवश्यक सहजीकरणको खाँचो औल्याएका थिए ।
विषय प्रवेश गराउँदै अनौपचारिक क्षेत्रसेवा केन्द्र इन्सेकका क्षेत्रीय संयोजक भोला महतले फेरिएको राज्य संरचनाले नागरिक सेवामा परेको सहजता र अप्ठेराका विषयमा अधिकारकर्मीहरु चनाखो हुनुपर्ने बताउनुभयो । कतिपय ठाउँमा जनप्रतिनिधिकै वीचमा मनमुटाव आउने, कर्मचारी र जनप्रतिनिधिका वीचमा टसल सिर्जना हुने र भएका स्रोतको दुरुपयोग हुनसक्ने भन्दै यस्तो अवस्थामा नागरिकको आधारभूत मानवअधिकारका सवाल समस्या पर्न सक्ने खतरा औल्याउनुभएको थियो ।
दाङको मानवअधिकार अवस्थाबारे जानकारी दिँदै जिल्लास्तरीय मानवअधिकार निगरानी समूहका संयोजक केशवकुमार शर्माले बदलिँदो राज्यसंरचनामा दिइने नागरिक सेवाबारे जनप्रतिनिधि र कर्मचारी स्वयं अन्यौलमा रहेको बताउनुभयो । सो अवसरमा बोल्दै समूहका सदस्य तथा नागरिक समाजका संयोजक चन्द्रराज पन्तले अपेक्षागरेअनुरुपको नागरिक सेवा प्रवाह नभएको बताउनुभयो ।
सरोकारवालाहरुले स्थानीय तहका न्यायिक समितिलाई थप प्रभावकारी बनाउन सबैको सहयोग र क्षमताअभिवृद्धि गर्नुपर्नेमा जोड दिए । बैठकमा समूहका सदस्य एवं हरप्लेसका जिल्ला संयोजक विनोद केसी, अपाङ्ग मानवअधिकार तथा सरोकार मञ्चका चिन्तामणि पौडेल, इन्सेक केन्द्रीय कार्यालयकी सलिना भट्टराई, क्षेत्रीय कार्यालय नेपालगञ्जकी फोकल पर्सन सरस्वती मल्ल, मानवअधिकार एलायन्सकी अम्बिका गौतम, इन्सेक जिल्ला प्रतिनिधि जे.एन.सागरलगायतले धारणा राख्नुभएको थियो ।

इएलपीको अनुगमन
यसैवीच इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवारी निकायलाई जवाफदेही बनाउने कार्यक्रमको अनुगमन गरिएको छ । इन्सेक केन्द्रीय प्रतिनिधि सलिना भट्टराई, क्षेत्रीय संयोजक भोला महत, फोकल पर्सन सरस्वती मल्ललगायतको टोलीले साविक सौँडियार र लक्ष्मीपुर गाविसका मानवअधिकार निगरानी समुहका गतिविधि, युवा समूह र बालक्लवका गतिविधिको अनुगमन गरेको हो । दुईदिनसम्म टोलीले निगरानी समूहका प्रतिनिधि, जनप्रतिनिधि र शिक्षा, स्वास्थ्य र खाद्यअधिकारका क्षेत्रमा भएका कामका विषयमा अनुगमन गरिएको इन्सेक जिल्ला सहजकर्ता शालिकराम मुसाफिरले जानकारी दिनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस