दाङ, ८ वैशाख । दाङ क्षेत्र नं ३ (ख) का प्रदेश सभा सदस्य उत्तर कुमार ओलीले अब कुनै पनि बालबालिका विद्यालय बाहिर नहुने बताउनुभएको छ । तुलसीपुर ११ नवलपुरस्थित श्री शान्ति प्राविद्वारा आयोजित भर्ना अभियान कार्यक्रममा बोल्दै ओलीले गरिबीको कारणले शिक्षाबाट अब कुनै पनि बालबालिका बन्चित नहुने बताउनुभएको हो ।

सबैभन्दा पहिला सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्न आग्रह गर्दै ओलीले अब सबै विद्यालयहरुलाई स्रोत साधनले सम्पन्न गराइने बताउनुभयो । शिक्षक एवं अभिभावक सबै एक भएर विद्यालयको गुणस्तर सुधार गर्न आवश्यक रहेको उहाँको धारणा थियो । सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा दिने वातावरण सिर्जना गर्ने हो भने यिनै विद्यालयमा भर्ना गराउन सोर्स लगाउने दिन पनि आउनेछन् भन्दै उहाँले विद्यालयमा सुधारको खाँचो रहेको ‍औँल्याउनुभएको हो ।

जन्मदै कोही धनी र गरिब भएर नजन्मने बताउँदै ओलीले गरिबीका नाममा कुनै अभिभावकले बालबालिकाहरुलाई शिक्षाबाट वञ्चित गर्ने खोजे सजायको भागिदार हुनुपर्ने बताउनुभयो । भर्ना अभियानमा सबै अभिभावक र शिक्षकहरुलाई  गाउँ गाउँ पस्न आग्रह गर्दै उहाँले गरीबीका कारण विद्यालय भर्ना गर्न नसक्ने व्यक्तिहरु भए उनीहरुको शिक्षाको ग्यारेन्टी स्थानीय सरकारले लिने बताउनुभयो ।

विशिष्ट अतिथिको आशनबाट बोल्दै तुलसीपुर उपमहानगरकी उपमेयर माया आचार्यले बालबालिकालाई विद्यालय नपठाउने अभिभावकलाई स्थानीय तहबाट पाउने सेवा सुविधा बन्देज गराइयो भने अभिभावकको लापरवाही कम हुने बताउनुभयो । उहाँले गरिबी र अभाव देखाई बालबालिकाहरुलाई शिक्षाबाट वञ्चित गरी काममा समेत लगाउने गरिएको पाइएको भन्दै यसतर्फ उपमहानगरको ध्यान केन्द्रित भएको बताउनुभयो । २०७५ सालमा कुनै पनि बालबालिका विद्यालय बाहिर नहुने गरी भर्ना अभियान सञ्चालन गर्न सबैलाई आग्रह गर्नुभयो ।

उक्त अवसरमा तुलसीपुर उपमहानगरपालिकाका शिक्षा संयोजक देवराज विक, वडा नम्बर ११ का अध्यक्ष चित्रबहादुर ओली, वडा सदस्य घनश्याम गौतम, विद्यालयका संस्थापक उपेन्द्र गौतम, गोवर्धन शर्मा, सिड संस्थाका अध्यक्ष भागिराम चौधरी, नरेश ओलीलगायतको उपस्थिति रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण शिक्षक शिवराज केसीले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस