दाङ, १८ बैशाख । घोराही उपमहानगरपालिका वडा नं. १६ को सहयोग र दाङ सञ्चार प्रालिको आयोजनामा आजदेखि घोराहीमा दुईदिने बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।
तालिम उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपमहानगरपालिकाकी उपप्रमुख सीता न्यौपानेले बालबालिकाका अधिकार सुरक्षित गरी स्थानीय तहलाई बालमैत्री बनाउन सबै सरोकारवालाको सहयोग जरुरी भएको बताउनुभयो । उहाँले बालमैत्री स्थानीय शासनले समाजमा बालबालिकाको अवस्था सुधार्न सहयोग पुर्याउने धारणा व्यक्त गर्नुभयो । उपमहानगरपालिकाका सबै वडाहरुलाई बिस्तारै बालमैत्री घोषणा गर्दै जाने योजना रहेको उहाँले जानकारी दिनुभयो ।
वडा नं. १६ का अध्यक्ष लछिनप्रसाद बुढाले वडालाई बालमैत्री घोषणा गर्ने तयारीका साथ विभिन्न योजनाहरु बनाइरहेको जानकारी दिनुभयो । बालमैत्री कार्यक्रमलाई प्राथमिकतामा राखेर नमुना वडा बनाउन लागिपरेको उहाँले बताउनुभयो । कार्यक्रममा बालअधिकार, बालमैत्री स्थानीय शासन, बालमैत्री स्थानीय शासनका सूचकहरु, बालमैत्री स्थानीय तह घोषणा प्रक्रिया, बालमैत्री वडा घोषणाको तयारी लगायतका विषयमा प्रशिक्षण दिइएको छ ।
कार्यक्रममा उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत बालकृष्ण खनाल, प्रशिक्षकहरु दुर्गालाल केसी, जेएन सागर र लक्ष्मी केसीले सहजीकरण गरिरहनुभएको छ ।












