दाङ, १९ बैशाख । घोराही उपमहानगरपालिका वडा नं. १६ को सहयोग र दाङ सञ्चार प्रालिको आयोजनामा सञ्चालित दुईदिने बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम आज घोराहीमा सम्पन्न भएको छ ।
तालिम समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपमहानगरपालिकाकी उपप्रमुख सीता न्यौपानेले बालबालिकाका अधिकार सुरक्षित गर्नु हरेक अभिभावकको दायित्व भएको बताउनुभयो । बालमैत्री स्थानीय शासनका सूचकहरु पूरा गरी घोराही उपमहानगरपालिकाका हरेक वडालाई बालमैत्री घोषणा गर्नेगरी काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रमका अध्यक्ष तथा वडा नं. १६ का अध्यक्ष लछिनप्रसाद बुढाले वडालाई बालमैत्री घोषणा गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो । कार्यक्रममा बालअधिकार, बालमैत्री स्थानीय शासन, बालमैत्री स्थानीय तह घोषणा प्रक्रियालगायतका विषयमा उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत बालकृष्ण खनाल, प्रशिक्षकहरु दुर्गालाल केसी, जेएन सागर र लक्ष्मी केसीले प्रशिक्षण दिनुभएको थियो ।
तालिमको अन्त्यमा उपप्रमुख न्यौपानेले १६ नं. वडाका विभिन्न टोलबाट सहभागी भएका ४० जनालाई वडालाई बालमैत्री घोषणा गर्न सक्रिय भएर काम गर्ने लिखित प्रतिबद्धता गराउनुभएको थियो । तालिम समापन कार्यक्रममा १६ नंं. वडाका सदस्य जगत श्रेष्ठ, दाङ सञ्चार प्रालिका अध्यक्ष किरण गौतम, सहभागी बबिता श्रेष्ठ र खीमा घर्ती मगरले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन १६ नं. वडा कार्यालयका सचिव नारायणप्रसाद शर्माले गर्नुभएको थियो ।












