दाङ, २१ वैशाख । घोराही उपमहानगरपालिका वडा नं. १६ को सहयोग र दाङ सञ्चार प्रालिको आयोजनामा आजदेखि घोराहीमा दुईदिने बालविवाह न्यूनिकरणसम्बन्धी तालिम सुरु भएको छ ।

तालिम उद्घाटन कार्यक्रममा बोल्दै उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले बालबालिकालाई सानै उमेरमा विवाह गर्नबाट रोकी उनीहरुको उचित संरक्षण गर्नुपर्ने बताउनुभयो । बालमैत्री उपमहानगर बनाउन बालबालिकाका अधिकार सुरक्षित गर्नुपर्ने उल्लेख गर्दै चौधरीले सबै सरोकारवाल जिम्मेवार भएमा मात्रै बालमैत्री अभियान सफल हुने धारणा व्यक्त गर्नुभयो ।

वडा नं. १६ का अध्यक्ष लछिनप्रसाद बुढाको अध्यक्षतामा सम्पन्न तालिम उद्घाटन कार्यक्रममा तालिमका प्रशिक्षक एवं हिप्डेकका अध्यक्ष विकिरण गौतम, प्रेस चौतारी दाङका सल्लाहकार संगीत बस्याल र चौतारीका अध्यक्ष जेएन सागरले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन १६ नं. वडा कार्यालयका सचिव नारायणप्रसाद शर्माले गर्नुभएको थियो ।

तालिममा बालअधिकार, बालमैत्री स्थानीय शासन, बालविवाह, बालविवाहका असरहरु र बालविवाह न्यूनिकरणका उपयाबारे प्रशिक्षण दिइने छ । तालिमका प्रशिक्षकहरुमा विकिरण गौतम, दुर्गालाल केसी, जेएन सागर र लक्ष्मी केसी रहनुभएको छ । तालिममा १६ नं. वडाका विभिन्न विद्यालयका बालबालिका र शिक्षक गरी ४० जनाको सहभागिता रहेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस