दाङ, २२ वैशाख । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले नगरलाई बालमैत्री बनाउने तयारी भैरहेको बताउनुभएको छ । बालबालिकाका आधारभूत अधिकार संरक्षण गरी उनीहरुलाई बिभिन्न निर्णय प्रक्रियामा सहभागी गराउने रणनीति उपमहानगरले अवलम्बन गरिरहेको उहाँले जानकारी दिनुभयो ।
घोराही उपमहानगरपालिका वडा नं. १६ को सहयोग र दाङ सञ्चार प्रालिको आयोजनामा घोराहीमा सञ्चालित दुईदिने बालविवाह न्यूनिकरणसम्बन्धी तालिम समापन कार्यक्रममा बोल्दै प्रमुख चौधरीले बालमैत्री उपमहानगर बनाउन बालविवाह न्यूनिकरणमा ध्यान दिनुपर्ने बताउनुभयो । बालबालिकालाई सानैमा विवाह हुनबाट बचाई उनीहरुको भविष्य सुरक्षित गर्ने दायित्व सबै वयस्कहरुको भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै हिप्डेक नेपालका अध्यक्ष एवं तालिमका प्रशिक्षक विकिरण गौतमले बालबालिका भविष्यका कर्णधार मात्र नभई वर्तमानका साझेदार भएकाले बालबालिकाका आवाज सुनेर काम गर्नुपर्ने बताउनुभयो । हरेक विद्यालयमा बालमैत्री शिक्षण सिकाई गरी बालबालिकाले रमाउँदै सिक्ने वातावरण बनाउनुपर्ने उहाँले बताउनुभयो ।
वडा नं. १६ का अध्यक्ष लछिनप्रसाद बुढाको अध्यक्षतामा सम्पन्न तालिम समापन कार्यक्रममा दाङ सञ्चार प्रालिका अध्यक्ष किरण गौतम, सहभागीहरु कल्पना गौतम र नारायण पुनले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण १६ नं. वडा कार्यालयका सचिव नारायणप्रसाद शर्माले गर्नुभएको थियो ।
तालिमका प्रशिक्षकहरुमा विकिरण गौतम, दुर्गालाल केसी, जेएन सागर र लक्ष्मी केसी रहनुभएको थियो । तालिममा १६ नं. वडाका विभिन्न विद्यालयका बालबालिका र शिक्षक गरी ४० जनाको सहभागिता रहेको थियो । तालिमको अन्तमा सबै विद्यालयले बालविवाह न्यूनिकरणका लागि विद्यालयमा गर्न सकिने गतिविधिहरुको कार्ययोजना तयार पारेका थिए ।












