दाङ, २३ वैशाख । मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल, राप्ती समितिले कक्षा ११ र १२ मा १००/१०० पूर्णाङ्कको अनिवार्य नेपाली विषयको पाठ्यक्रम यथावत् राख्न पाठ्यक्रम विकास केन्द्रसँग माग गरेको छ ।

समितिले आज विज्ञप्ति निकालेर नेपाल सरकार, पाठ्यक्रम विकास केन्द्रले विभिन्न वाहनामा नेपाली भाषामाथि मनपरी गर्दै आएको भन्दै कक्षा ११ र १२ मा अनिवार्य नेपाली विषयलाई ५०/५० पूर्णाङ्कको बनाउने वा कुनै एउटा कक्षामा मात्र सीमित गर्ने वा अन्य विषयका नाममा विस्थापन गर्ने जस्ता कार्य गरिरहेको भन्दै त्यसो नगर्न माग गरेको हो ।

समितिका राप्ती संयोजक सुनिल पोखरेल र सचिव राजेन्द्र गौतमले विज्ञप्ति जारी गरी नेपाली भाषा आम नेपालीहरूको मातृभाषा तथा सबै नेपालीहरूको साझा सम्पर्क भाषा भएकाले यसको संरक्षण र सम्वर्द्धन गर्न जुट्नुपर्नेमा नेपाली भाषामा प्रहार गरी बेथितिहरू निम्त्याउने काम भएको दाबी गर्नुभएको छ ।

विज्ञप्तिमा कक्षा १२ सम्मको पठनपाठनलाई विद्यालय तह मानिएको, विद्यालयका सबैजसो विषयको पठनपाठनको माध्यम नेपाली भाषा नै भएकाले विद्यार्थीहरूमा नेपाली भाषाको भाषिक सीपको विकासका लागि पनि कक्षा ११ र १२ मा सत पूर्णाङ्कको नेपाली विषय अनिवार्य भएको उल्लेख छ ।

विद्यार्थीहरूमा नेपाली भाषाको भाषिक सीप विकास गर्न पाठ्यक्रम विकास केन्द्रले जोड दिनुको साटो अनिवार्य नेपाली विषयको पूर्णाङ्क घटाएर आम विद्यार्थीहरूलाई कमजोर पार्ने कार्यमा लागेको भन्दै विज्ञप्तिमा भनिएको छ “आधारभूत तहदेखि उच्च तहसम्म नेपाली विषय अनिवार्य गर्नुपर्ने आवश्यकता देखिरहेको सन्दर्भमा विद्यालय तहमै विस्थापन गर्न खोज्नु तथा खुम्च्याउने प्रयास गर्नु अत्यन्त गलत कार्य हो ।”

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस