घोराही, २८ वैशाख । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले घोराही उपमहानगरपालिकाले स्थापना गरेका जलाशयहरुको अवलोकन गर्नुभएको छ । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सीमसार क्षेत्र विस्तार गर्ने, पानीको मुहान बढाउने, स्रोतको संरक्षण गर्दै जलाशयबाट किसानहरुले लाभ लिने उद्देश्यले निर्माण गरिएका जलाशयहरुको मुख्यमन्त्रीलाई अवलोकन गराउनुभएको हो ।
घोराही उपमहानगरपालिका वडा नम्बर १६ बाहुनडाँडाको गंगटे, वडा नम्बर १७ को ढिकपुर र आरोग्य जलाशयको मुख्यमन्त्री पोख्रेलले अवलोकन गर्नुभएको हो । अवलोकन गर्दै मुख्यमन्त्री पोख्रेलले पानीको स्रोत बढाउने र किसानलाई फाइदा पुग्नेखालका जलाशय निर्माणले दीर्घकालीन फाईदा पुर्याउने बताउनुभयो ।

जलाशयलाई सुरक्षित बनाउँदै अधिकतम लाभ लिन उपमहानगर र स्थानीयबासीलाई आग्रह गर्नुभएको छ । जलाशय आसपासमा किसानहरुले मकै र तरकारी खेती गरेर राम्रो आम्दानी गर्न समेत सफल भएका छन् । जलाशयलाई स्थानीयहरुले नै संरक्षण गर्नुपर्ने भन्दै अधिकतम लाभ लिन समेत सुझाब दिनुभयो ।
जलाशयमा माछा पालन र पानीबाट सिंचाईमा विषेश ध्यान दिँदै आयस्रोत बढाउने गरी प्रयोगमा ल्याउन मुख्यमन्त्री पोख्रेलले आग्रह गर्नुभयो । उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले पानीको स्रोत बढाउने र किसानहरुलाई उत्पादनसँग जोड्न आगामी वर्षहरुमा पनि जलाशय निर्माणका योजनाहरु अघि सार्ने बताउनुभयो ।

मुख्यमन्त्री पोख्रेलले घोराही १७ गुलरीयामा निर्माणाधीन खेल मैदानको समेत अवलोकन गर्नुभएको छ । प्रदेशस्तरको रंगशाला बनाउने गरी आफूहरुले काम गर्ने समेत मुख्यमन्त्री पोख्रलले बताउनुभयो ।

