मानपुर, २ जेठ । बढ्दो सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले तुलसीपुर उपमहानगरपालिका १६ नं. वडा कार्यालयको आयोजनामा विद्यार्थीहरुका लागि ट्राफिक सचेतनासम्बन्धी एकदिने अभिमुखिकरण कार्यक्रम आधारभूत विद्यालय लक्ष्मीपुरमा मंगलबार सम्पन्न भयो ।
तुलसीपुर उपमहानगरपालिका १६ नं. वडाका अध्यक्ष भूपबहादुर के.सी.को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा हेमन्तपुर अस्थायी ट्राफिक प्रहरी कार्यालयका प्रमुख नमबहादुर थापा र ट्राफिक प्रहरी जवान शरद के.सी.ले ट्राफिकको परिचय, ट्राफिकको काम, सवारी ऐन २०४९, दुर्घटना न्यूनिकरण, जेब्राक्रसिङका बारेमा जानकारी दिनुभएको थियो ।
त्यसैगरी दुर्घटनाको कारण, बाटो काट्दा अपनाउँनु पर्ने कुरा, वर्तमान् समयमा दुर्घटनाको अवस्था, दुर्घटनामा परी मृत्यु हुने उमेर समूह, साइड काट्ने तरिका, ट्राफिकचिन्ह र यसको प्रयोगको महत्वका बारेमा जानकारी दिनुभएको थियो । सहायक बाटो बाट मूल बाटोमा जाँदा अपनाउँनु पर्ने कुरा, सडक रेखाको परिचय, लेन अनुशासन, सिड बेल्डको प्रयोग तथा महत्व, मापासे लगायतको बारेमा श्रव्य दृश्य तथा प्रशिक्षण विधिबाट जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा शिक्षक विद्यार्थी गरी करिब दुईसय जनाको सहभागिता रहेको थियो । कार्यक्रममा वडा सदस्य डण्डबहादुर खत्री, रमा भण्डारी समेतको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तेजबहादुर बस्नेतले ट्राफिक नियमको पालना गर्न सकियो भने दुर्घटना न्यूनिकरण हुने धारणा राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण वडा सचिव राजेन्द्र के.सी.ले गर्नुभएको पत्रकार शालिकराम मुसाफिरले जानकारी दिनुभयो ।

