घोराही, २ जेठ । घोराही उपमहानगरपालिकाका कार्यबहाक नगर प्रमुख सीता न्यौपानले लैङ्गिक हिंसाको अन्त्य परिवारबाटै सुरु हुनुपर्ने बताउनुभएको छ । अधिकांश घटनाहरु परिवारबाट हुने बताउँदै उहाँले परिवारबाट हुने यस्ता घटनाहरु रोक्न जरुरी रहेको बताउनुभयो । दाङ सञ्चार प्रालिको आयोजना र घोराही उपमहानगरपालिका वडा नम्बर २ को सहयोगमा आजदेखि रामपुरमा सुरु भएको लैङ्गिक हिंसा न्यूनिकरण विषयक अभिमुखीकरण कार्यक्रममा बोल्दै कार्यबहाक नगर प्रमुख न्यौपानेले लैङ्गिक विभेदको अन्त्य आवस्यक रहेको बताउनुभयो ।
वडा अध्यक्ष केशबराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै न्यौपानेले लैङ्गिक समानताले मात्रै परिवार र समाजको समृद्धि सम्भव भएको बताउनुभयो । महिला र पुरुषको सहकार्य एवं सहयोगले मात्रै परिवार तथा समाजलाई समृद्ध बनाउन सकिने उहाँको भनाइ छ । परिवार हिंसामुक्त बनाउन सके समाज आफै हिंसामुक्त हुने भएको हुँदा हरेक परिवार लैङ्गिक हिंसामुक्त हुन जरुरी रहेको उहाँले बताउनुभयो ।

न्यायीक समितिका संयोजक समेत रहनुभएका न्यौपानेले लिङ्गको आधारमा कसैलाई पनि विभेद गर्न नहुने बताउनुभयो । भोलिसम्म चल्ने अभिमुखीकरणको जेएन सागर, सन्तोष सुवेदी र इन्द्र डिसीले सहजीकरण गरिरहनुभएको छ ।
अभिमुखीकरणमा वडाका ४० जना महिला एवं पुरुषहरुको सहभागिता रहेको छ । उद्घाटन कार्यक्रमको सहजीकरण दाङ सञ्चार प्रालिका अध्यक्ष किरण गौतमले गर्नुभएको थियो ।

