घोराही, २ जेठ । घोराही उपमहानगरपालिका वडा नं. ११ को सहयोग तथा नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र दाङ शाखाको आयोजनामा वडा नं. ११ का १६ जना अपाङ्गलाई सहायक सामग्री प्रदान गरिएको छ ।
अपाङ्ग संघका कार्यवाहक अध्यक्ष शरद अधिकारीको अध्यक्षतामा एवं वडाध्यक्ष कुलवहादुर लामिछानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडाका विभिन्न स्थानका अपाङ्गहरुलाई विभिन्न सहायक सामग्री प्रदान गरिएको थियो ।
घोराही उप महानगरपालिका वडा नं. ११ को कार्यालय खैरामा आयोजना गरिएको कार्यक्रममा सामग्री पाउनेहरु मध्य ह्विल चियर दुईजनालाई प्रदान गरिएको थियो । यमवहादुर बस्नेत र रामवहादुर खत्रीले ह्विल चियर पाउनुभएको थियो । यस्तै कालीप्रसाद चौधरी, डम्वर बहादुर डाँगी र देवकुमारी खड्का र केशर बहादुर खत्रीले बैशाखी पाउनुभएको थियो । सुस्मिता बस्नेत, गुल्पी चौधरी र भगवता चौधरीले सेतो छडी पाउनुभयो । टिकन्या चौधरी र सुनकुमारी विकले लठ्ठी पाउनुभयो ।सहायक सामग्री वितरण कार्यक्रममा शोभा विक, आशा रोका, गौमती डाँगीले विशेष जुत्ता पाउनुभयो । यस्तै गणेश चौधरी र सन्तोष नेपालीलाई श्रवणयन्त्र प्रदान गरिएको थियो । वडाअध्यक्ष कुलबहादुर लामिछाने र नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रका कार्यवाहक अध्यक्ष शरद अधिकारीले ती सामग्री वितरण गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष लामिछानेले वडामा रहेका सबैखाले अपाङ्गहरुका लागि आवश्यक पर्ने सहायक सामग्री आगामी दिनमा पनि वितरण गरिने जानकारी गराउनुभयो । अझै पनि अपाङ्गता भएकाहरु घरभित्रै लुक्ने चलन रहेको भन्दै बाहिर निस्किएर आफ्नो क्षमता प्रदर्शन गर्न पनि उहाँले आग्रह गर्नुभयो ।
वडा कार्यालयले करिव एक लाख रुपैयाँको सहायक सामग्री वितरण गरेको थियो । सामग्री वितरण कार्यक्रमको सञ्चालन अपाङ्ग संघका कार्यालय प्रमुख विक्रम तामाङलेगर्नुभएको थियो ।