घोराही, ६ जेठ । घोराही उपमहानगरपालिकाले सामुदायिक विद्यालयका शिक्षकहरुलाई अनिर्वायरुपमा विद्यालय पोशाक लगाउन र बिदा बस्दा निबेदन लेख्न निर्देशन दिएको छ । विद्यालयको शैक्षिक सुधारका लागि अनुगमनका क्रममा शिक्षकहरुले विद्यालय पोशाक नलगाएको पाइएपछि उपमहानगरको सामाजिक विकास समिति र शिक्षा शाखाले अनिवार्य पोशाक लगाउन निर्देशन दिएको हो ।
राज्यले वार्षिक दुई जोडा पोशाक किन्ने रकम दिने तर शिक्षकहरुले पोशाक नलगाउनु गलत भएको सामाजिक विकास समितिका संयोजक भरत अर्यालले बताउनुभयो । विद्यार्थीहरुलाई अनिवार्य पोशाक लगाउन निर्देशन दिने शिक्षकहरुले आफै पोशाक नलाउनु लाजमर्दो विषय भएको उहाँको भनाइ छ ।
साथै अधिकांश शिक्षकहरुले बिदा बस्दा समेत निवेदन नलेख्ने पाइएको भन्दै अनुगमन समितिले अनिवार्य निवेदन लेख्न र बिदाको कारण स्पष्ट खुलाउन निर्देशन दिएको छ । शिक्षकहरुले नै पोशाक नलगाउने र निवेदन नलेखी बिदा बस्दा विद्यार्थीमाथि प्रश्न उठाउन नमिल्ने भन्दै पहिले शिक्षकहरुले त्यसको कार्यान्वयन गर्नुपर्ने शिक्षा शाखा प्रमुख नरायण पौडेलले बताउनुभयो ।
घोराही उपमहानगरपालिकाले नगर क्षेत्रका विद्यालयहरुमा शैक्षिक सुधारका लागि सरोकारवालाहरुको साथ लिएर अनुगमनमा कडाइ गरेको छ । अनुगमनका क्रममा जानकारीविना शिक्षकहरु बिदा बस्ने र विद्यालय पोशाक नलगाउने पाइएपछि उपमहानगरले थप कडाइ गरेको जनाएको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस