घोराही, ८ जेठ । ‘१५ वर्षमै विवाह गरे, दुई सन्तान पनि जन्मिए, अहिले विभिन्न समस्या भोगिरहेकी छु, मैले नजानेर भविष्य राम्रो बनाउन सकिन तपाईहरुले विवाह होइन पढाई लेखाई गर्नुहोला’ घोराही उपमहानगरपालिका–२ मोतीपुरकी २० वर्षीया शिवा परियारले मंगलबार स्थानीयलाई बालविवाह गर्दा आउने समस्याबारे घर घरमै पुगेर सुझाउनुभयो । पढ्न लेख्नसमेत नपाएकी परियार अहिले २० वर्षकी हुनुहुन्छ । दुई सन्तानकी आमा परियारले आफूले जस्तो समस्या अरुले भोग्नु नपरोस भन्ने लागेर बालविवाह विरुद्ध जानेका र भोगेका कुरा भन्दै हिँडेको बताउनुभयो ।घोराही उपमहानगरपालिका– २ लाई बालमैत्री वडा बनाउन मंगलबार जनप्रतिनिधिसहित अभिभावक, बालवालिका, प्रहरी, पत्रकार, शिक्षक र सर्वसाधारणहरुले परियारले जस्तै घर घरमा पुगेर बालविवाह नगर्न, नगराउन आग्रह गरे । उमेर नपुगी गरिने विवाहले अवसर र स्वास्थ्यमा समेत ठूलो असर पुर्‍याउने भन्दै अभिभावक र बालवालिका स्वयंलाई सुझाउने काम गरिएको थियो ।‘पहिले अभिभावकले विवाह गराउने प्रवृत्ति थियो अहिले आफै बालविवाह गर्ने चलन बढेको छ’ अभिभावक सरिता नेपालीले भन्नुभयो ‘केटाकेटी आफैले सानै उमेरमा गर्ने विवाह रोक्न सबै लाग्नुपर्छ ।’ बालविवाह स्वास्थ्य र अवसरले मात्रै होइन पारिवारिक विखण्डन समेत बढाएको प्रहरी चौकी रामपुरका प्रमुख केशवसिंह धामीले बताउनुभयो । उहाँले २० नपुगी गरिने विवाह अब स्वतः बदर हुने बताउनुभयो ।हाम्लाई पढ्न देऊ, हाम्रो भविष्य आफै बनाउँछौ, बिहे त  २० पुगेसी सोचौँलालगायतका नारा लेखिएका सचेतना स्टिकर टाँस समेत गरिएको छ । व्यक्तिका घर, सार्वजनिक स्थानहरुमा स्टिकर टाँस गरिएको वडाध्यक्ष केशवराज आचार्यले जानकारी दिनुभयो ।यसैगरी बिहेवारी २० पारीलगायतका नारा लेखिएका प्लेकार्डसहित रामपुर बजार तथा ग्रामीण क्षेत्रमा घरदैलो गरिएको थियो । घरदैलोका क्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले घर, खेतवारीमै पुगेर उमेर नपुगी छोरा-छोरी कसैको पनि बिहे नगर्न र उचित शिक्षाका लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो । उहाँले हरेक वडालाई बालमैत्री बनाउन सके उपमहानगरलाई नै बालमैत्री बनाउन सकिने भन्दै त्यसले दक्ष, कुशल जनशक्ति उत्पादन हुनेबताउनुभयो । घोराही उपमहानगरपालिका–२ को आयोजनामा गरिएको बालविवाह विरुद्धको घरदैलो कार्यक्रमको समन्वय दाङ सञ्चार प्रालिले गरेको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस