घोराही, ९ जेठ । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले नागरिकहरुलाई आफ्नो स्वास्थ्यमा ध्यान दिन आग्रह गर्नुभएको छ । घोराही उपमहानगरपालिकाको वडा नम्बर ८ ले आज मर्पामा आयोजना गरेको एकीकृत स्वास्थ्य शिविरको उद्घाटन गर्दै नगर प्रमुख चौधरीले स्वास्थ्य नै सम्पत्ति भएको भन्दै यसलाई खेलवाडका रुपमा लिन नहुने बताउनुभयो ।
कुनै पनि रोगलाई नलुकाउन आग्रह गर्दै नगर प्रमुख चौधरीले समयमै उपचार गर्न सुझाव दिनुभयो । आर्थिक लगानीविनै पनि स्वास्थ्यलाई स्वस्थ राख्न सकिने भन्दै उहाँले दैनिकी एवं आधारभूत व्यवहारलाई सुधार्नु पर्नेमा जोड दिनुभयो ।
सरसफाईको अभाव, कुलत, दूषित खाना, शौचालयको सही व्यवस्थापन नहुँदा विभिन्न रोगहरु लाग्ने भएको हुँदा यी सबै पक्षको व्यवस्थापनका लागि गरिने लगानी खेर नजाने उहाँले बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख सीता न्यौपानेले स्वास्थ्य नै अमूल्य सम्पत्ती भएको बताउनुभयो । स्वस्थ भए मात्रै पारिवारिक र सामाजिक विकास सम्भव हुने भएकाले स्वास्थ्यमा लगानी गर्न आग्रह गर्नुभयो । वडा अध्यक्ष चन्द्रप्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा डा. नागेश्वर मिश्र, घोराही उपमहानगर स्वास्थ्य शाखा प्रमुख नारायण घर्ती, ठाकुर खनाल लगाएतले बोल्नुभएको थियो ।

उपचारका लागि आएका नागरिकहरुले गाउँमै एकीकृत स्वास्थ्य सेवा पाउँदा खुसी व्यक्त गरेका छन् । शिविरमा विषेश गरी महिलाहरु र जेष्ठ नागरिकहरु सहभागी भएर उपचार सेवा लिएका छन् । महिलाहरुमा पाठेघरको समस्या, दम, शरीर दुख्ने लगायतका समस्याहरु देखा परेको छ ।
शिविरमा डाक्टरहरु नागेश्वर मिश्र, रविन चन्द र अनुपमा शर्माले विरामीको स्वास्थ्य जाँच गर्नुभएको छ । साथै शिविरमा नेपाल परिवार नियोजन संघको सहयोगमा महिलाहरुको पाठेघरमा क्यान्सर भए नभएको जाँच समेत गरिएको छ ।
Advertisements


