दाङ, १० जेठ । विद्यालयमा मावि दरबन्दी नहुँदा पठनपाठनमा समस्या भएको एक कार्यक्रमका सहभागीहरुले गुनासो गरेका छन् । इन्सेक दाङको समन्वय तथा मानवअधिकार निगरानी समूह लक्ष्मीपुरको आयोजनामा मावि झिङ्नीमा भएको शैक्षिक गुणस्तरका लागि शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति र विद्यार्थीबीच भएको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले त्यस्तो गुनासो गरेका हुन् ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीले मावि दरबन्दी नभएकाले तल्लो तहका शिक्षकले पठनपान गराउनु पर्ने बाध्यता रहेको गुनासो गर्नु भएको थियो । विद्यालयमा कुनै पनि आर्थिक स्रोत नभएकाले निजी स्रोतका शिक्षकहरुलाई पनि कम पारिश्रमिकमा काममा लगाएर पठनपाठन भैरहेको बताउनुभएको थियो ।
कार्यक्रममा सहभागी विद्यार्थीहरुले कक्षा ९ र १० मा कम्प्युटर कक्षा सञ्चालन गर्नुपर्ने, कक्षा कोठामा झ्यालको निर्माण गर्नुपर्ने, छात्रा शौचालय थप गर्नुपर्ने, पुस्तकालयमा १ जना कर्मचारीको व्यवस्था गर्नुपर्ने, कक्षा कोठामा पङ्खाको व्यवस्था गर्नुपर्ने माग राखेका थिए ।
निगरानी समूहका अध्यक्ष खीमा अधिकारीको अध्यक्षता तथा वडा नं. ३ का वडा अध्यक्ष माधव चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक कृष्णप्रसाद अधिकारीले विद्यार्थीहरुको माग जायज भएको भन्दै आर्थिक स्रोतको खोजी गरी उचित व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि घोराही वडा नं. ३ का वडा अध्यक्ष माधव चौधरीले विद्यालयको चौतर्फी विकासको लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल, शिक्षक, विद्यार्थी लगायतले आ–आफ्नो धारण राखेका थिए । कार्यक्रमको सहजीकरण बालअधिकार चेतना समूहका संरक्षक शिक्षक बामदेव अधिकारीले गरेका थिए ।












