दाङ, १४ जेठ । दाङको शान्तिनगर गाउँपालिका वडा नं. ३ र ४ मा पाँच दिनदेखि झाडापखालाको प्रकोप फैलिएपछि स्थानीय दुईवटा विद्यालय बन्द गरिएको छ । बिहीबारदेखि फैलिएको झाडापखालाले गाउँका पूरै मान्छेहरु बिरामी परेपछि संक्रमणको डरले दुई दिनका लागि विद्यालय बन्द गरिएको शान्तिनगर गाउँपालिकाका शिक्षा शाखा अधिकृत घनश्याम वलीले जानकारी दिए । वलीका अनुसार वडा नं. ३ पातेटाकुरामा पर्ने बिपी मावि बयाले सिम्तारा र स्थानीय उमाचन्द्र इङ्लिस बोर्डिङ स्कुल जेठ १३ र १४ गते बन्द गरिएको हो । दुवै विद्यालयमा १ हजार दुई सय बढी बालबालिकाले अध्ययन गर्छन् ।
अझै नियन्त्रणमा आएन झाडापखाला
पाँचदिनदेखि फैलिएको झाडापखाला अझै नियन्त्रणमा नआएको शान्तिनगर स्वास्थ्य चौकीले जनाएको छ । चौकीका इन्चार्ज हरि पुनका अनुसार ५० बढी बालबालिकासहित जेठ १४ गतेसम्म एक हजार तीनसय ७५ जना बिरामीको उपचार गरिएको छ । धेरैजसो घर फर्किसकेको भए पनि एकसयको हाराहारीमा अझै उपचारको क्रममा रहेको स्वास्थ्य चौकीले जनाएको छ ।

