घोराही, १८ जेठ । शैक्षिक सामग्रीकै अभावले विद्यालय जान नसकेका ३० जना बालवालिकालाई घोराही उपमहानगरपालिकाले स्कुल ड्रेससहित शैक्षिक सामग्री वितरण गरेको छ ।
घोराही उपमहानगरपालिका वडा नं. १ मा रहेका ३० जना बिपन्न परिवारका बालवालिकाहरुलाई शुक्रवार एक कार्यक्रमको आयोजना गरी उपमहानगर प्रमुख नरुलाल चौधरीले विद्यालय पोशाक तथा शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको हो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका उपमहानगर प्रमुख चौधरीले विद्यालय जाने उमेर समूहका सबै बालबालिकालाई अनिवार्यरुपमा विद्यालय पठाउनुपर्ने बताउनुभयो । ‘कुनै समस्या देखाएर विद्यालय नजाने वा नपठाउने भन्ने हुँदैन’ प्रमुख चौधरीले भन्नुभयो ‘त्यस्तो अवस्था कतै छ भने उपमहानगरले विद्यालय जाने वातावरण तयार गर्छ ।’ उहाँले आफ्नो व्यक्तित्व विकास मात्रै होइन समाज र सिङ्गो देशको विकासका लागि दक्ष जनशक्ति आवश्यक पर्ने भन्दै आवश्यक जनशक्ति उत्पादन गर्न सबैलाई शिक्षा दिनुपर्ने बताउनुभयो ।
सो अवसरमा बोल्ने वक्ताहरुले कुनै पनि बालबालिका विद्यालय जानबाट बञ्चित हुन नहुने बताएका थिए । निमावि सिमलताराका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छविलाल घर्तीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको शैक्षिक सामग्री वितरण कार्यक्रममा बाल संरक्षण समिति वडा नं. १ का अध्यक्ष टोपाकुमारी पौडेलले स्वागत गर्नुभएको थियो भने वडा नं. १ का अध्यक्ष राममणि पाण्डेलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
विपन्न बालबालिकाहरुलाई एकजोर विद्यालय पोशाक, कापी, कलम र स्कुल झोला वितरण गरिएको वडा अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस